close

राप्तीमा ज्येष्ठ नागरिक दिवा सेवा : दंग छन् बूढा बाआमा 

राप्तीमा ज्येष्ठ नागरिक दिवा सेवा : दंग छन् बूढा बाआमा 

Trulli
ADVERTISEMENT

भदौ– दाङको राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा सुरु भएको छ । ६० वर्षमाथिका नागरिकलाई एकै ठाउँ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुःख–सुख साट्ने गरी दिवा सेवा सुरु भएको हो । 


बुधबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले मसुरिया र सिसहनियामा सञ्चालनमा ल्याइएको दिवा सेवाको उद्घाटन गरे । ज्येष्ठ नागरिकलाई खुसी दिन दिवा सेवाले सहयोग गर्ने उनले बताए । 


सार्वजनिक बिदाबाहेर हरेक दिन दिवा सेवा सञ्चालन हुने बताउँदै अध्यक्ष सुवेदीले घरका ज्येष्ठ नागरिकको उचित स्याहार गर्ने छोराछोरी, बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित सम्मान गर्दै आएको जानकारी दिए । 

 

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडाअध्यक्षत्रय चन्दर चौधरी, गोवद्र्धन रावत, वेदप्रसाद चौधरीले ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा प्रभावकारी बन्ने बताए । 


दिवा सेवामा ज्येष्ठ नागरिकका लागि अध्ययनका पाठ्यपुस्तक, मनोरन्जनका लागि वाद्यवादन सामग्री र खाजाको व्यवस्था गरिएको महिला विकास निरीक्षक जीवन जिसीले बताए । 


राप्तीको महिला, बालबालिका, अपांगता तथा ज्येष्ठ नागरिक शाखाले पालिका क्षेत्रका ज्येष्ठ नागरिकलाई पायक पर्ने गरी मसुरिया र सिसहनियामा दिवा सेवा सुरु गरेको सहायक महिला विकास निरीक्षक कल्पना खनालले जानकारी दिइन् ।