close

डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन

डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन

Trulli
ADVERTISEMENT

ललितपुर– वाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । जिल्लाको विकट उक्त क्षेत्रमा माटोअनुसारको कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो प्रविधि भित्र्याइएको हो ।  खेतीयोग्य जमिनको गुणस्तरअनुसार कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान दिलाउन  बिहीबारदेखि सो प्रविधि प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । 

 

उनले भने, ‘अब किसानले आफ्ना खेतबारीको माटोको उर्वराशक्तिबारे  थाहा पाउने भएका छन् । प्रयोगशालाको सुविधासँगै समयसमयमा माटो परीक्षण गर्छौं ।’  प्रयोगशालाका माध्यमबाट माटामा भएका अम्लीयपन घटाउन, प्राङ्गारिक मलको मात्रा बढाउन र  बिरुवालाई आवश्यक पर्ने पोषकतत्वबारे जानकारी लिन सकिने उपाध्यक्ष रञ्जना घिमिरेले बताइन् । 

 

यहाँका खेतीयोग्य जमिनका माटो परीक्षण गरेर उपयुक्त बाली लगाउन सुझाव दिइने कृषि कार्यालयका प्रमुख सुवास खनालले जानकारी दिए । उनले भने, ‘हामीले परम्परागत खेतीमा मात्र ध्यान नदिएर आधुनिक कृषि प्रणालीमा पनि  लाग्न जरुरी छ । माटो  जाँच्न  हेटौँडा पुग्नुपर्ने बाध्यता अब अन्त भएको छ । यहाँ हरेक बालीका लागि सुहाउँदो वातावरण भएकाले आगामी दिन माटो सुहाउँदो खेती गर्न प्रेरित गर्छौँ ।’ 

 

गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँको भू–बनोट र हावापानी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो । यसैगरी  ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि : वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरिने तथा कृषिलाई आयामूलक र मर्यादित व्यवसायका रुपमा विकास गरिने योजनासमेत प्रस्तुत गरिएकोे थियो । 

 

गाउँपालिकाभित्र कृषि प्रसार, बजार व्यवस्थापन, बाँझो जमिन उपयोग, जनशक्ति व्यवस्थापन, चक्लाबन्दी कृषिलाई प्रोत्साहन, सहकारीको विस्तार र  सामूहिक खेती गरी एकै प्रकारको बाली लगाउन प्रेरित गरिने जनाइएको थियो ।   वडा नं ४ प्युटारमा यसै  आवदेखि कृषि हाट बजार सञ्चालनमा ल्याइने  तथा माल्टा, प्युटार, आश्राङ र गिम्दीमा लसुनप्याज मिसन कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।