close

पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने 

पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने 

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाले कोरोना संक्रमणबाट  मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने भएको छ । 

 

नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । हालै सम्पन्न नवौँ नगरसभाले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको परिवारलाई २५ हजारका रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यसका लागि नगरपालिकाले मृतकको कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । ‘नगरसभामा निर्णय भएअनुसार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको परिवारलाई  २५ हजारका दरले आर्थिक सहयोग गर्दैछौँ’, नगरप्रमुख भीम न्यौपानेले भने । 

 

उनका अनुसार आजदेखि सम्पर्कमा आएका मृतकको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिनेछ । हाल नगरपालिका भित्रका १२ महिलासहित ४६ जना कोरोनाका सक्रिय संक्रमित छन् । पनौती नगरपालिकाका सबै संक्रमित होम आइसोलेसनमै रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जनाएको छ । 

 

नगरपालिकाले आउँदो केही महिनामा कोरोना भाइरस संक्रमणको दर बालबालिकामा उच्च हुने प्रक्षेपण गरेको छ । सोही अनुरुप संक्रमित बालबालिका लागि हाललाई ३० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरेको छ । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप वडा ४ कार्यालयमा आइसोलेसन वार्ड बनाएको नगरप्रमुख न्यौपानेले बताए । 

 

नगरपालिकाले कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ श्ययाको अक्सिजनसहितको आइसोलेसन कक्ष व्यवस्थित गरेको थियो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । तीमध्ये १ सय ८७ जनाको मृत्यु भएको छ । हालसम्म कूल संक्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ४३२ जना संक्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित  थपिएका छन् भने ८५ जना संक्रमणमुक्त भएका छन् । 

 

काभ्रेपलाञ्चोकमा हाल ४ सय ४४ जना सक्रिय संक्रमित छन् । तीमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १ सय २६, बनेपामा १ सय ०४, पाँचखालमा ५१, नमोबुद्धमा ५४, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा १०, चौँरी देउरालीमा एक,  तेमालमा एक, भुम्लु १५, खानीखोलामा दुई, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा दुई जना रहेको केन्द्रले जनाएको छ ।