close

गलकोटमा घरघरै खानेपानीको धारा पुग्दै

गलकोटमा घरघरै खानेपानीको धारा पुग्दै

Trulli
ADVERTISEMENT

बागलुङ– ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित गलकोट बृहत् खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । गलकोट नगरपालिका  ३, ५ र ७ वडा का १२ सय घरधुरीमा खानेपानीको सहज पहुँच पुर्‍याउन डेढ वर्षअघि आयोजना सुरु गरिएको थियो ।

 

संघ सरकारअन्तर्गत खानेपानी मन्त्रालयको  १७ करोड बजेटमा बन्न लागेको आयोजना आगामी दुई वर्षभित्र सक्ने लक्ष्य छ । सुरुमा ७ वडा  मल्मको गगनपानी (क) बाट निर्माण थालिएकामा अहिले सबै ‘स्किम’मा कामले गति लिएको छ । आयोजनामा १० साना ‘स्किम’ छन् । आयोजनाका अध्यक्ष छुमबहादुर थापाका अनुसार गगनपानी (क) मा मुहान, इन्टेकसहित ३० हजारका तीन र ५० हजार लिटरको एउटा ट्याङ्की निर्माण भइसकेको छ । 

 

यस्तै दुई किमिमा पाइप बिछ्याउने काम पूरा भएको छ । गगनपानी (ख) मा ३० हजारका २ र ५० हजारको एउटा ट्याङ्की बनेको छ । मुहान र इन्टेकसहित २ हजार ५०० मिटरमा पाइप बिछ्याइ सकिएको अध्यक्ष थापाले बताए । गगनपानी (क) बाट मल्मका अर्बेदी, कोल, गहते र सिरबारे बस्तीका बासिन्दा लाभान्वित हुनेछन् भने (ख) बाट खोलापारी, साहनीडाँडा र बतासेडाँडामा खानेपानी पुग्नेछ । वडा ७ मा गगनपानी (क), (ख) सहित खाल्टेपानी–टोक्री–निलापानी, खाल्टेपानी–पौडेपानी, डुन्डुरा–मल्मडाँडा, सिद्धथान–सिरबारे र चिसापानी–आँगाखेत गरी सात साना ‘स्किम’ छन् । 

 

अरु ‘स्किम’मा पनि मुहान, ट्याङ्की र पाइपलाइनको काम भइरहेको हो । वडा नं ३ मा पनि चार ट्याङ्की निर्माण भइसकेका छन् । सो वडामा नयाँ पँधेरा र भुके मुहानको पानीलाई आयोजनामार्फत घरघरमा वितरण गर्न लागिएको हो । त्यहाँका खसगाउँ, कोतमैदान, स्याँला, लमाइलगायतका बस्ती आयोजनाबाट लाभान्वित हुनेछन् ।

 

यस्तै वडा ५ को रुस्ती ‘स्किम’बाट हरिचौर बजारलगायत आसपासका बस्तीमा खानेपानी पुर्‍याइँदैछ । कोरोना महामारी र वर्षायामका बाबजुद पनि निर्माणको काम भने नरोकिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीका सुपरभाइजर मणी कँडेलले बताए । 

 


बहुवर्षीय कार्यक्रम भएकाले बजेटको अभाव नहुने आयोजना कार्यालयले जनाएको छ । हालसम्म भौतिक निर्माणका काममा २ करोड बढी खर्च भइसकेको छ । आयोजनामा ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमी र वितरण ‘पाइपलाइन’ ३२ किमी छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्नेछन् ।

 

घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने राज्यको नीतिअनुसार तीनै तहका सरकारले ‘एक घर, एक धारा’ अभियान चलाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।