close

दशै‌ं मान्न आउनेलाई १४ दिन क्वारेन्टाइन अनिवार्य

दशै‌ं मान्न आउनेलाई १४ दिन क्वारेन्टाइन अनिवार्य

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङ नगरपालिकाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नयाँ नियम लागू गर्ने भएको छ । चाडवाडको समय घर आउनेलाई बाग्लुङ नगरको १ वडाले सरकारले तोकेको स्वास्थ्य मापदण्डमा थप कडाइ थालेको छ ।


बाग्लुङ नगरपालिका–१४ नारायणस्थानले दशै‌, तिहार, छढजस्ता पर्व मनाउन वडाबाहिरबाट आउनेहरूले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको हो ।


वडामा पाहुनाको रुपमा आउने वा लामो समय जिल्लाबाहिर रहेका जोकोही आउँदा पनि क्वारेन्टाइन अवधि पूरा गर्नुपर्ने व्यवस्था गरिएको वडाअध्यक्ष चक्रबहादुर खत्रीले बताए । 


‘वडाबासीले दशै‌–तिहारजस्ता पर्वको समय आउजाउ धेरै हुँदा संक्रमण फैलिने त्रास रहेको गुनासो गरेपछि अनिवार्य क्वारेन्टाइन बस्ने र स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने निर्णय भएको हो’, उनले भने ।


वडास्तरको दैवीप्रकोप व्यवस्थापन समिति, टोल सुधार समिति, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाहरू भेला गराएर वडा कार्यालयले छलफल चलाएको थियो । सबैको सहमतिपछि नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइसाथ अपनाउन अनुरोध गरिएको वडा सदस्य नारायण श्रेष्ठले बताए ।


बाहिरबाट आउनेले कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, लक्षण देखिए पिसिआर परीक्षण गर्नुपर्ने, भारत वा तेस्रो मुलुकबाट आउनेले ७२ घन्टाभित्रको पिसिआर नेगेटिभ भएको प्रमाण वडामा अनिवार्य पेस गर्नुपर्ने, होम क्वारेन्टाइनमा बस्दा सरकारले तोकेअनुसारको मापदण्ड पालना गर्नुपर्ने, स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्नेलगायत नियम वडाले बनाएको छ ।


‘नयाँ कोही आउँदा आफैंले नियम पालना गर्न लगाउनू र नभए वडा कार्यालयमा सम्पर्क गर्नू भनेका छौं,’ वडाध्यक्ष खत्रीले भने, ‘समुदायलाई संक्रमणबाट जोगाउनु हामी सबैको दायित्व हो ।’