close

जन्तेढुङ्गा गाउँपालिकाको आफ्नै भवनबाट सेवा दिन थाल्यो 

जन्तेढुङ्गा गाउँपालिकाको आफ्नै भवनबाट सेवा दिन थाल्यो 

Trulli
ADVERTISEMENT

खोटाङ– जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट दैनिक सेवा प्रवाह सुरु गरेको छ । चिसापानी बजारमा गाउँपालिकाको कार्यालय स्थापना भएदेखि हालसम्म तत्कालीन चिसापानी गाविसको कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेर जनताका लागि दैनिक सेवा प्रवाह सुरु गरेको हो ।

 

गाविसको पुरानो तथा साँघुरो कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाको लागि निर्माणाधीन अढाइतले भवन बनिनसक्दै भुइँ तलामात्र फिनिसिङ (सम्पन्न) गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख विदुरमान राईले बताए । आर्थिक वर्ष २०७५\७६ मा गाउँपालिकाले विनियोजन गरेको  ७१ लाख, आव २०७६\७७ मा प्रदेश सरकारबाट प्राप्त  ५० लाख र २०७७\७८ मा संघीय सरकारबाट प्राप्त  ८५ लाख रुपैयाँ गरी २ करोड ६ लाखमा आफ्नै कार्यालय भवन निर्माणको काम सुरु गरिएको हो ।

 

कार्यालय भवन निर्माणका लागि संघीय सरकारबाट प्राप्त १ करोड रकममध्ये १५ लाख बजेट फ्रिज भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा, इञ्जीनियर, आइटी, सभाहल गरी १० कोठा भएको एकतले भवन निर्माण गरिएको छ ।

 

गाउँपालिकाको भवनलाई अढाइ तले बनाउने तयारी छ । बाँकी तला निर्माणका लागि पनि चालु आव संघीय सरकारबाट रु एक करोड समपूरक अनुदान रकम प्राप्त भएको सामाजिक विकास शाखा प्रमुख राईले बताए । 

 

विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण गाउँपालिकाको भवन औपचारिकरूपमा उद्घाटन गर्न बाँकी रहेको जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहहरूले यसअघि नै आ–आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् ।

 

यसैबीच खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा निर्माण गरिएको आयुर्वेद शाखा कार्यालयको भवन पनि सञ्चालनमा ल्याइएको छ ।  २०७२ असार २० गते स्थापना गरिएको आयुर्वेद शाखाको तल्लो तलामा तीन कोठा र माथिल्लो तलामा तीन कोठा भएको भवन निर्माण गरिएको हो । 

 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ८२ लाख ५० हजार (भ्याट बाहेक) को खर्चमा आयुर्वेद शाखाको कार्यालय भवन निर्माणको काम सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रदीप राईले बताए ।