close

टीकपुरमा सामाजिक सुरक्षा भत्ता लिने घटे, दुई हजार बढीले भत्ताका लागि गरेनन् नवीकरण 

टीकपुरमा सामाजिक सुरक्षा भत्ता लिने घटे, दुई हजार बढीले भत्ताका लागि गरेनन् नवीकरण 

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन गर्‍यो । प्रत्येक वडा तहमा स्थानीयलाई पायक पर्ने ठाउँमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले वार्षिक नवीकरण गर्नुपर्ने र वडा कार्यालयमा धेरै भीडभाड हुने भएकाले शिविर सञ्चालन गरेको थियो । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्यांकमा  शिविरबाट २ हजारभन्दा बढी जनाले आफ्नो भत्ता नवीकरण नगरेको पाइएको छ ।

 

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्यांकअनुसार अझै पनि २ हजार १ सय ७६ व्यक्तिको भत्ता विवरण अद्यावधिक गर्न बाँकी छ । त्यसमा पनि वडा १ मा सबैभन्दा बढी छन् । अझै १ वडामा ८ सय ८३ ले भत्ता विवरण अद्यावधिक गराएका छैनन् । त्यस्तै वडा  २ मा ३ सय ११, वडा ३ मा ९९, वडा ४ मा ७३, वडा ५ मा १ सय ८८, वडा ६ मा १  सय ३४, वडा ७ मा १ सय १०, वडा ८ मा २ सय ८४ र वडा ९ मा ३१ जनाले आफ्नो भत्ता नवीकरण गराएका छैनन् ।

 

नगरपालिका पञ्जीकरण उपशाखा एमआइएस अपरेटर कुष्माखर जैशीले भत्ता नवीकरण म्याद भदौ मसान्तसम्म रहेकाले लाभग्राहीको सहजीकरणका लागि गाउँगाउँमा शिविर सञ्चालन गर्दा पनि लाभग्राही नआउँदा कतै भोलि कोही छुट भएको अवस्थामा समस्या आउने भन्दै पुनः सूचना जारी गरेको बताए । ‘हामीले लाभग्राहीलाई भदौ मसान्तसम्म वडा कार्यालयमा गएर भत्ता नवीकरण गर्न भनेर सूचना जारी गरेका छौँ, कोही छुट भएमा त्यसको जिम्मेवारी हामी हुने छैनौँ’, जैशीले भने, ‘भत्ता नवीकरण नभए एक वर्षका लागि राज्यबाट पाउने सुविधा बन्द हुनेछ, एक वर्षसम्म भत्ता नवीकरण गर्न छुटेकाले भत्ता पाउने छैनन् ।’

 


नगरपालिकामा ९ हजार ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । त्यसमा ज्येष्ठ नागरिक तीन हजार ९ सय ९०, ज्येष्ठ नागरिक दलित ९ सय १५, ज्येष्ठ नागरिक एकल महिला ८ सय ५२, विधवा भत्ता लाभग्राही एक हजार ५ सय ९५, पूर्ण अपांगता भएका व्यक्ति ९६, अतिअशक्त अपांगता भएका ३ सय ७४, दलित बालबालिका एक हजार १ सय १८ र लोपोन्मुख जातिका ९१ लाभग्राही रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखामा तथ्यांक छ । चालु आवमा ३ सय ३६ जना नयाँ लाभग्राही थपिएका छन् ।