close

चीनमा उघारिँदै बुटवलका विद्यार्थीको चित्रकला

चीनमा उघारिँदै बुटवलका विद्यार्थीको चित्रकला

Trulli
ADVERTISEMENT

रूपन्देही–चीनको सांस्कृतिक सहर सियानमा हुने एसिया र युरोपस्तरीय युवा चित्रकला प्रदर्शनीमा बुटवलका विद्यार्थीले कोरेका चित्रकलालाई पनि सहभागी गराइने भएको छ ।

 

बुटवल उप–महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सियान सहरले आगामी अक्टुबरमा विश्व स्तरको चित्रकला प्रदर्शनी गर्न लागेको हो । सोही प्रदर्शनीमा बुटवलका विद्यार्थीले कोरेका चित्र समावेश गरिनेछन् । 

 

भगिनी सम्बन्ध स्थापना भएका आधारमा बुटवल उपमहानगरलाई चीनले यो अवसर दिएको हो । यहाँबाट छानिएका पाँच वटा चित्रलाई सियान सिटीमा पठाइसकिएको बुटवलका प्रमुख शिवराज सुवेदीले बताए ।

 

युरोप र एसियाका विभिन्न मुलुकका ९ देखि १५ वर्ष उमेर समूहसहित बुटवलका विद्यार्थीले कोरेका चित्रसमेत चीनको प्रदर्शनीमा राख्न निमन्त्रणा आएपछि सोही उमेर समूहका बुटवलका विद्यार्थीबीच स्पर्धा गराई चित्र कोर्न लगाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

 

‘यो संसारलाई हेर्ने मेरो नजर र संसारमा चिनाउने मेरो नेपाल’ सोचका आधारमा विद्यार्थीले आ–आफ्ना विद्यालयमा चित्र कोरेका थिए । त्यसरी कोरिएका चित्रलाई एकमुष्ठ राखेर उपमहानगरले विज्ञबाट मूल्यांकन गराएको थियो ।

 

बुटवलका विद्यालयबाट आन्तरिक प्रतिस्पर्धा गराई उत्कृष्ट भएका चित्रलाई विज्ञको मूल्यांकनका आधारमा छनोट गरी पाँच वटा चित्रलाई आयोजक सियान सिटीमा पठाइएको विदेश विभाग हेर्ने उपमहानगरका वरिष्ठ अधिकृत दिलबहादुर श्रेष्ठले बताए ।

 

चित्रकला प्रदर्शनीमा यी विद्यार्थीलाई भौतिक रूपमा सहभागी गराउने÷नगराउने विषयमा भने अझै टुंगो नभएको र आयोजकले पनि यसबारे अझै निधो नदिएको श्रेष्ठको भनाइ छ । 

 

बुटवलस्थित दीप बोर्डिङ स्कुलका कृष राना, कान्ति माविका प्रज्ज्वल पन्थी, न्यू होराइजन माविका आयशा थापा तथा कालिका मानवज्ञान माविका राजन न्यौपाने र नयाँगाउँ माविका पूर्णबहादुर थापाले कोरेको चित्रकलालाई क्रमशः उत्कृष्टका आधारमा छनोट गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख टीकाराम पन्थीले जानकारी दिए ।

 
बुटवलका विभिन्न विद्यालयबाट कोरेर पठाइएका चित्रलाई विज्ञ शान्ताराम गिरी, कृष्ण मल्ल र टीकाराम पन्थी सम्मिलित समितिले मूल्यांकन गरी उत्कृष्ट पाँच वटालाई मात्र छनोट गरेर उपमहानगरमा सिफारिस गरेको थियो ।

 

संसारमा नेपाललाई चिनाउने सोचका साथ आ–आफ्नो देशका सम्पदा, परम्परा तथा संस्कृति झल्कने खाले पाँच वटा चित्र छनोट गरेर तोकिएको मितिमै आयोजकलाई पठाइएको श्रेष्ठले बताए । 

 

विश्वमा मित्रवत सम्बन्ध बढाउने प्रदर्शनी

 

चीनको सांघाई को–अपरेसन अर्गनाइजेसनको आयोजनामा आगामी अक्टुबरमा हुने उक्त कार्यक्रममा युरोप र एसियाका विशिष्ट अधिकारी सहभागी हुनेछन् । 

 

विश्वका प्रमुख सहरका बीचमा रहेको मित्रवत सम्बन्धलाई अझ प्रगाढ बनाउने, त्यहाँका रीतिरिवाज, संस्कृति र परम्पराका माध्यमबाट संसारमा सद्भाव बढाउने सोचले कार्यक्रम आयोजना गरिएको सियान सिटीका अधिकारीले बताए । 

 

बुटवलका विद्याथीले कोरेको चित्रमार्फत यहाँको मात्र नभई समग्र नेपालको रीतिरिवाज, संस्कार, संस्कृति, धार्मिक सद्भावको अवस्थालाई चित्रमार्फत प्रदर्शन गर्न लागिएको बुटवल उपमहानगरका प्रमुख सुवेदीले बताए ।

 

बुटवलमा कोरिएका चित्र ‘धार्मिक सद्भाव कायम’ रहेको मुलुकका रूपमा चिनाउने खाले बनाएका छन् । युरोप र एसियाका धार्मिक, सांस्कृतिक सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यस प्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम गरिएको हो ।