close

बेरुजु फस्र्योट गर्ने राष्ट्रसेवकलाई विभूषणमा प्राथमिकता

बेरुजु फस्र्योट गर्ने राष्ट्रसेवकलाई विभूषणमा प्राथमिकता

Trulli
ADVERTISEMENT

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षमा बेरुजु फस्र्योटका लागि मातहत निकायमा उल्लेखनीय काम गर्ने कर्मचारीलाई निजामती सेवा पुरस्कार र विभूषणका लागि प्रथमिकतामा राख्ने निर्णय गरेको छ । 


मन्त्रालयले आर्थिक वर्ष २०७८\७९ लाई बेरुजु फस्र्योट वर्षको रूपमा लिने निर्णयसहित कर्मचारीलाई पुरस्कृत गर्न लागिएको हो । 

 

मन्त्रालयले बेरुजु फस्र्योटका लागि विभिन्न लक्ष्य निर्धारण गरेको छ । बेरुजु फस्र्योटका लागि मन्त्रालय र अन्य निकायलाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको छ । 


क वर्गका मातहत विभाग, आयोजना वा कार्यलयले क्रियाशील रही कुल बेरुजु रकम ५ अर्ब रुपैयाँ बढी कायम भएका निकायले आफ्नो मातहतका बेरुजुको न्यूनतम ४५ प्रतिशत फस्र्योट गर्नुपर्ने मन्त्रालयले बताएको छ । त्यस्तै, ख वर्गका विभाग वा आयोजनाले आफ्नो नाममा कायम बेरुजुको न्यूनतम ५० प्रतिशत फस्र्योट गर्नुपर्ने व्यवस्था छ ।


ग वर्गमा आफ्नो कार्यालयको मात्र लेखा राख्ने निकायलाई राखिएको छ । यिनले आफ्नो नाममा कायम बेरुजुको न्यूनतम ६० प्रतिशत फस्र्योट गर्नुपर्नेछ ।मन्त्रालयले व्यवस्था गरेको निर्देशिकाअनुसार चालू वर्षको लेखापरीक्षणबाट शून्य वा कम बेरुजु कायम गराउने निकायका प्रमुख र कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ । 


यसमा क वर्गका निकायमा ८० देखि शतप्रतिशतसम्म बेरुजु फस्र्योट गराउनेलाई सर्वोत्कृष्ट, ५० देखि ८५ प्रतिशतसम्म गराउनेलाई उत्कृष्ट, ४५ प्रतिशतदेखि ५० सम्म गराउनेलाई समान्य मानिएको छ ।  ४५ प्रतिशतभन्दा कम बेरुजु फस्र्योट गराउने निकायलाई न्यून मानिनेछ । 


ख वर्गमा रहेका निकायमा ८५ देखि १०० प्रतिशतलाई सर्वोत्कृष्ट, ५५ देखिदेखि ८५ प्रतिशतलाई उत्कृष्ट, ५० देखि ५५ प्रतिशतलाई सामान्य र ५० प्रतिशत कम भएकालाई न्यून मानिएको छ ।


ग वर्गका निकायको हकमा भने ९० देखि शतप्रतिशतलाई सर्वोत्कृष्ट, ७० देखि ९० प्रतिशतलाई उत्कृष्ट, ६० देखि ७० प्रतिशतसम्मलाई सामान्य र ६० प्रतिशतभन्दा कम बेरुजु फस्र्योट गर्नेलाई न्यून मानिनेछ ।  


मन्त्रालयका अनुसार सर्वोत्कृष्ट हुने मन्त्रालय, सचिवालय वा केन्द्रीय निकायका प्रशासकीय प्रमुखलाई १५ हजार, मन्त्रालयअन्तर्गतको विभागमा बेरुजु फस्र्योटको काममा प्रत्यक्ष संलग्न हुने कर्मचारीलाई बढीमा १० हजार रुपैयाँ दिने निर्णय गरिएको छ ।


त्यस्तै, उत्कृष्ट हुने मन्त्रालय वा अन्य निकायका प्रशासकीय प्रमुखलाई १० हजार रुपैयाँ दिइनेछ । बेरुजु फस्र्योट नगराउने कर्मचारीलाई कारबाहीसमेत गर्ने निर्णय भएको छ । बेरुजु फस्र्योट गराउने विभाग र कार्यालयका कर्मचारीलाई पुरस्कृत र कारबाही गर्ने अधिकार भने सम्बन्धित मन्त्रालयलाई दिइएको छ ।