close

बेपत्ता पारिएका आफन्तको प्रश्न : हाम्रा मान्छेहरू कहाँ छन् ?

बेपत्ता पारिएका आफन्तको प्रश्न : हाम्रा मान्छेहरू कहाँ छन् ?

Trulli
ADVERTISEMENT

बागलुङ– कोभिड१९ ले थलिँदा जसोदा शर्माले श्रीमान् सूर्यप्रसादलाई सम्झिन् । दुई सातासम्मको एकान्तबासमा पानीसमेत दिने कोही नभएपछि घरमा प्रियजन नहुँदाको पीडाले उनलाई सतायो ।

 

बलपूर्वक बेपत्ता पारिएका नागरिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित अन्तरक्रियामा अफ्ठ्यारो परिस्थतिमा सहाराविहीन हुनुको दुःख शर्माले सुनाइन् । बागलुङ नगरपालिका२ का सूर्यप्रसाद विसं २०५८ देखि बेपत्ता छन् । तत्कालीन सशस्त्र द्वन्द्वमा राज्यपक्षबाट उनी बेपत्ता पारिएका हुन् ।

 

बीस वर्ष बित्न लाग्दासमेत बेपत्ता श्रीमान्को स्थिति पत्ता नलागेपछि शर्मा निराश छिन् । अदालतसम्म धाउँदा पनि न्याय नपाएको उनको गुनासो छ । राज्यले हाम्रो आवाज सुनेन, कहिलेसम्म न्यायको लागि लडिरहने ?’, शर्माले प्रश्न गरिन् । शर्मा जस्तै बागलुङका बेपत्ताजनका परिवार वर्षौदेखि आफ्ना प्रियजनको पखाईमा छन् ।

 

वर्सेनी दिवसका दिन उनीहरू एकाआपसमा दुःख बाँड्छन्, अरुलाई सुनाउँछन् । माग नसुनेकामा राज्य यन्त्रप्रति दुःखेको व्यक्त गर्छन् । विगतको दश वर्षे द्वन्द्वमा यहाँका २५ जना बेपत्ता छन् । निसीखोला गाउँपालिका४ का खुमलाल शर्मा पनि न्यायको पर्खाइमा छन्  ।  २०६२ मङ्सिरमा श्रीमती सुशीलालाई तत्कालीन विद्रोही पक्षले बेपत्ता पारेको थियो । शर्माले पनि द्वन्द्वमा भएका अपराधजन्य घटनाको छानबिन हुनुपर्ने र अपराधीले सजाय पाउनुपर्ने बताए ।

 

शर्माले आइतबार मात्रै जिल्ला प्रहरी कार्यालयमा बेपत्ता श्रीमतीको खोजी गरिदिन माग गर्दै जोहेरी दिएका छन् । उनीसँगै जैमिनी नगरपालिका१० का बिमल केसीले पनि आफ्ना छोरा गणेश अहिलेसम्म नभेटिएको भन्दै बेपत्ता पार्ने विरुद्ध जाहेरी दिएका छन् । केसीका छोरा गणेश  २०५८ मा राज्यपक्षबाट बेपत्ता पारिएका थिए ।

 

द्वन्द्वपीडितसँगै मानवअधिकारीवादी संस्था, नागरिक समाजलगायतले बेपत्ताको स्थिति सार्वजनिक गर्न र बलपूर्वक बेपत्ता पार्ने कार्यमा संलग्नलाई कानुनी कठघरामा ल्याउन माग गर्दै आए पनि अहिलेसम्म सुनुवाई हुन सकेको छैन ।

 

सरकारले बेपत्ता छानबिन आयोग बनाएको सात वर्ष भइसके पनि परिणामुखी काम भएको छैन । न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका केन्द्रीय उपाध्यक्ष बद्रीबहादुर केसीले द्वन्द्व पीडितलाई न्याय दिने सवालमा राज्य मौन बसेको आरोप लगाए ।

 

तपाईं, हाम्रो कोही आफ्नो मान्छे २४ घण्टा मात्र सम्पर्कविहीन हुँदा के हुन्छ होला ? एकछिन सोचौँ त’, उपाध्यक्ष केसीले भने, ‘यतिका वर्षसम्म बेपत्ताको स्थिति सार्वजनिक नहुँदा उहाँहरूका परिवारजन गहिरो पीडामा हुनुहुन्छ ।

 

उनले द्वन्द्व पीडितको न्याय प्राप्तिका लागि आफूहरुले अन्तिमसम्म संघर्ष  गरिरहने बताए । सोही कार्यक्रममा बोल्दै बागलुङ बारका अध्यक्ष हरिप्रसाद शर्माले राज्यले द्वन्द्व पीडितको आवाज सुन्नुपर्ने धारणा राखे । नागरिकको जीवनरक्षाको दायित्व राज्यको हो, त्यो जिम्मेवारीबाट च्यूत हुन मिल्दैन ।

 

वकालत मञ्चका धवलागिरि संयोजक अधिवक्ता राम शर्माले मानिस बेपत्ता पार्ने काम मानवता विरुद्धको अपराध भएको उल्लेख गरे । गम्भीर प्रकृतिका मुद्दामा आममाफी दिन मिल्दैन’, उनले भने, ‘बेपत्ताबारे सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।