close

काठमाडौंको फोहोर बुधबारदेखि उठाइँदै, अवरोध भए बल प्रयोग

काठमाडौंको फोहोर बुधबारदेखि उठाइँदै, अवरोध भए बल प्रयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– १ महिनादेखि फोहोरले दुर्गन्धित बनेको संघीय राजधानी काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडकमा थुप्रिएको फोहोर बुधबारदेखि उठ्ने भएको छ ।


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायत पदाधिकारीको बैठकले उपत्याकाको फोहोर उठाउने निर्णय गरेको हो ।

 

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने चिन्ता थपिएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौं महानगर प्रमुख शाक्यले भने,’ ‘स्थानीयले राखेका माग महानगरले पूरा गर्छौं । हामीले समाधान गर्न नसक्ने समस्या भए सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं ।’  फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको उनले जानकारी दिए । 


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगर प्रमुखको संयोजकत्वमा बसेको बैठकमा छलफल भई फोहोर उठाउने निर्णय भएको बताए । 


सिसडोल जाने बाटो सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर तत्काल व्यवस्थापन गर्ने निर्णय भएको उनको भनाइ छ । पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेरै भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए ।

 

‘फोहोर महानगरले उठाउँछ । स्थानीयका समस्या भए महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई आदेश दिएको छु । उहाँहरूको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्नुहुन्न । सकेम्म सम्झाई–बुझाई गरेर फोहोर व्यवस्थापन गर्छौ । नभए बल प्रयोग गरेरै भए पनि व्यवस्थापन गर्छौं ।’

काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए ।