close

दुहुँ पहिरोमा परेर तीन जनाको मृत्यु, दुई जना बेपत्ता 

दुहुँ पहिरोमा परेर तीन जनाको मृत्यु, दुई जना बेपत्ता 

Trulli
ADVERTISEMENT

दार्चुला– निरन्तरको वर्षाका कारण पहिरो गएपछि दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । सोमबार राती पहिरो खस्दा दुँहु गाउँपालिका वडा नम्बर १ बास्पालीमा दुई जनाको मृत्यु भएको छ ।

 

घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नरसिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा माटोमुनिबाट उनीहरूको शव निकालिएको हो । 

 

यस्तै, वडा नम्बर ५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडालको ज्यान गएको छ । अझै दुई जना बाढीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुँहु गाउँपालिका वडा नम्बर ३ का शेरसिंह कार्की र हरकसिंह कार्की रहेका छन् ।

 

बाढीपहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घर बगाएको छ । बाढीले २ लघु जलविद्युत् आयोजना, २ झोलुंगे पुल, १ आरसीसी पुल बगाएको छ ।

 

यस्तै, सोमरबार राती निजाङ खोलामा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगरस्थित टिंकर सडकको पक्की मोटरेबल पुल, अपिनाम्पा संरक्षण क्षेत्रको रेन्जपोस्टसमेत बगाएको छ ।

 

पहिरोमा परी गम्भीर घाइते भएका दुहुँ गाउँपालिका वडा नम्बर ५ का जनकराम पार्की र उजली देवी डडालको हेलिकोप्टरद्वारा उद्दार गरिएको छ । 

 

जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रहमा गृह मन्त्रालयले नेपाली सेनासँग समन्वय गरी उनीहरूको उद्दारका लागि हेलिकोप्टर व्यवस्था गरी थप उपचार गर्न धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।