close

कोरोनाका कारण राप्तीका स्वास्थ्य संस्थालाई लक्ष्य भेट्याउन मुस्किल

कोरोनाका कारण राप्तीका स्वास्थ्य संस्थालाई लक्ष्य भेट्याउन मुस्किल

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाको सेवा प्रवाहबारे गरिएको समीक्षा कार्यक्रममा गत वर्षको लक्ष्य महामारीका कारण पूरा नभएको जानकारी दिइयो । 

 

गत वर्ष कोभिड–१९ को दोस्रो चरणको महामारीका कारण नियमित क्रियाकलाप सहज रूपमा गर्न नपाएपछि वार्षिक लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

 

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा ५ वटा स्वास्थ्य इकाइको समीक्षा गरिएको हो ।

 

पालिकाका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी सहभागी कार्यक्रममा स्वास्थ्य संस्थाको गत आर्थिक वर्षमा भएका कार्य प्रगतिको समीक्षा गरिएको हो । समीक्षामा स्वास्थ्य संस्था प्रमुखले प्रतिवेदन प्रस्तुत गरे । 

 

सिसहनिया स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्का, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद श्रेष्ठ, लालमटिया आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख कमला न्यौपाने, खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख पुनम कुमाल, मौरीघाट स्वास्थ्य इकाइ प्रमुख जानकी रोका, पत्थरगढवा स्वास्थ्य इकाइ प्रमुख चन्द्रा चौधरी, देवीकोट स्वास्थ्य इकाइ प्रमुख यज्ञबहादुर कार्कीले गत वर्ष भएका कामबारे जानकारी गराएका थिए ।

 

राप्ती गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रममा सरोकारवालाले स्वास्थ्य संस्थाले प्रदान गर्दै आएका सेवामा पोषण वृद्धि अनुगमन गर्नुपर्ने, स्वास्थ्य इकाइको स्तर वृद्धि गर्नुपर्ने, संस्थागत सुत्केरी बढाउनुपर्ने, नियमित खोप सेवा प्रदान गर्ने, गर्भवती तथा सुत्केरी जाँच बढाउनुपर्ने, परिवार नियोजन सेवाग्राही संख्या निश्चित गर्नुपर्ने, खोप केन्द्रमा कर्मचारी थप गर्नुपर्नेलगायत सुझाव दिइएको छ । 

 

कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडाअध्यक्षहरू, स्वास्थ्य कार्यालय दाङका प्रतिनिधि कमल चन्द, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्य स्वयंसेविकाका प्रमुख तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

 

कार्यक्रममा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा थप गर्नुपर्ने, सेवा सुविधासहित स्वास्थ्य स्यंसेविकालाई थप परिचालन गर्नुपर्ने, स्वास्थ्य संस्थामा औषधी पर्याप्त हुनुपर्र्नेमा जोड दिइयो ।