close

रत्ननगरमा किसान कल सेन्टर, किसानका समस्या फोनमार्फत सामधान गरिने 

रत्ननगरमा किसान कल सेन्टर, किसानका समस्या फोनमार्फत सामधान गरिने 

Trulli
ADVERTISEMENT

चितवन– किसानको समस्या फोनमार्फत सामधान गर्ने उद्देश्यले जिल्लाको रत्ननगर नगरपालिकामा किसान कल सेन्टर सुरु गरिएको छ। 

 

नेपाल सरकारअन्तर्गत फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानका लागि कल सेन्टर स्थापना गरिएको हो ।
 
नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवी अधिकारीले कल सेन्टरको संयुक्तरुपमा उद्घाटन गरेका छन् । किसानलाई आइपर्ने समस्या र सामधानका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनको लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ । फोनमार्फत किसानले राखेको समस्यालाई पालिकास्तरका प्राविधिकले तत्काल सामधान गर्ने र प्राविधिकले समस्या सामधान गर्न नसके विज्ञहरुलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रवीण लामाले जानकारी दिए ।


 
किसान, पालिका प्राविधिक, विज्ञ र विज्ञ समूहसम्मलाई कल सेन्टरमा जोडेर कृषि र पशुपालनको समस्या सामधान गर्ने बृहत् योजनाका साथ किसान कल सेन्टर स्थापना गरिएको उनले बताए । आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधि कृषि र पशुपालनप्रति जिम्मेवार रहेका कारण चितवनमै पहिलो पालिकास्तरमा रत्ननगरमा कल सेन्टर सुरु गरिएको बताए ।


 
प्रमुख वनले किसानको समस्या फोनमार्फत सामधान गर्न कल सेन्टर स्थापना गरिएको बताए । उनले भने, ‘हामीले यो किसानलाई उपहारको रुपमा ल्याएका हौँ, किसानको पहिचानको लागि परिचयपत्रको समेत व्यवस्था गर्दै छौँ ।’ वनले विपन्न किसानको जीवनस्तर उकास्न ५० प्रतिशतमा गाई वितरण गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।