close

बागलुङ नगरपालिकाद्वारा छात्रवृत्ति वितरण

बागलुङ नगरपालिकाद्वारा छात्रवृत्ति वितरण

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई मासिकरूपमा छात्रावृत्ति उपलब्ध गराउन थालेको छ । 

 

यसका नगरपालिकाले लागि ‘गोविन्द अधिकारी व्यावसायिक छात्रावृत्ति’ कार्यक्रम ल्याएको छ । तीन वर्षअघिदेखि नै नीति तथा कार्यक्रममा राखेको उक्त कार्यक्रम कार्यविधि बनाइएको थियो ।  गत वर्षदेखि वितरण गर्ने भने पनि कोरोनाका कारण यस वर्षदेखि सामुदायिक विद्यालय तथा प्राविधिक धारमा अध्ययनरत २७ विद्यार्थीलाई मासिक छात्रावृत्ति वितरण गर्न शुरु गरिएको  नगरपालिकाले जनाएको छ । 

 

कक्षा ९ र १० मा अध्ययन गर्नेलाई मासिक रु एक हजार र कक्षा ११, १२ र डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने छ ।

 

आगामी दिनमा विद्यार्थीको बैंक खातामै चौमासिकरूपमा छात्रवृत्ति भुक्तानी गरिने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘ पूर्व सांसद स्व गोविन्द अधिकारीको सम्मानमा’ नगरपालिकाले जेहेन्दर विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने अभिप्रायले तीन वर्षअघिदेखि कार्यक्रम ल्याएको हो ।

 

‘यसले यस वर्षबाट सार्थकता पाएको छ, कार्यविधि बनाउन समय लाग्यो र लगत्तै कोरोना कहर भएकाले ढिलै भए पनि छात्रावृत्ति वितरण गर्न थालेका छौँ’, नगर प्रमुख पौडेलले भने,  ‘ प्लस टु पास गर्ने विद्यार्थी छात्रवृत्तिको सूचीबाट घट्ने र कक्षा ८ पास गरेका विद्यार्थी कार्यविधिअनुसार छनोटमा पर्नेछन्, सङ्ख्यात्मकरूपमा आगामी वर्ष विद्यार्थीको सङ्ख्या बढ्दै जाने छ ।’

 

छात्रवृत्ति कार्यक्रमबाट भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । छात्रावृत्ति पाउँदा आफूलाई अध्ययनमा धेरै सहयोग पुग्ने धवलागिरि प्राविधक प्रतिष्ठानमा अध्ययनरत संरचना विकले बताए ।

 

मंगलबार संघीय सांसद मनकुमारी केसी, नगरप्रमुख पौडेल तथा स्व अधिकारीकी श्रीमती भीमा अधिकारीलगायतले २७ विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेका थिए ।