close

हुम्लीका दुःख : सडक पहुँच अभावले नागरिकलाई भरियाले बोकेको नुन–तेलको भर

हुम्लीका दुःख : सडक पहुँच अभावले नागरिकलाई भरियाले बोकेको नुन–तेलको भर

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको दक्षिण भेगमा रहेका दुई गाउँपालिकाका नागरिक लामो समयदेखि भरियाका भरमा नुनतेल खाँदै आएका छन् । अदानचुली,चंखेली, ताजकोट र सर्केगाड गाउँपालिकामा सडक सञ्जालले छोए पनि पालिकाभित्रका अधिकांश वडाका गाउँमा सडक नपुग्दा उनीहरूले घोडा, खच्चड तथा आफैंले बोकेर ल्याएको अन्नको भरमा दैनिकी चलाउँदै आएका हुन् । नुनतेल, चामल र दैनिक उपभोग्य वस्तु बोकेरै खानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

 

सडक सञ्जाल नभएको चंखेली र सर्केगाड पालिकाका अधिंकाश वडाका नागरिकले भरियाको भरमा नुनतेल खानुपर्ने बाध्यता रहेको हो । दक्षिण क्षेत्रका नागरिकलाई मात्रै होइन, जिल्ला सदरमुकाम सीमकोटमा सञ्चालित पसल व्यवसायीको सामानसमेत खच्चडमार्फत जिल्लाबाहिरबाट ढुवानी हुने गरेको छ ।


हुम्ला राष्ट्रिय सडक सन्जालमा नजोडिँदा व्यवसायी र उपभोक्ता सबैलाई मार परेको छ । चीनसँग जोडिएको उत्तरी हिल्सा नाका कोरोना संक्रमणका कारण झन्डै दुई वर्षदेखि बन्द गर्दा माथिल्लो भेगका नागरिकले समेत सास्ती पाउँदै आएका छन् ।


हिल्सा नाका बन्द हुँदा सीमकोट, नाम्खा र खार्पुनाथ पालिकाका नागरिकको रोजगारी खोसिएको छ । यो समय विगतका वर्षमा चीनको ताक्लाकोट पुगेर काम गरेर घरखर्च चलाउने गरे पनि कोरोनाले रोजगारी गुमेको उनीहरू बताउँछन् ।