close

काठमाडौंका विद्यालय बन्द गर्न जिल्ला प्रशासनको ताकेता 

स्थानीय तहको अधिकारमाथि सिडियोको हस्तक्षेप

काठमाडौंका विद्यालय बन्द गर्न जिल्ला प्रशासनको ताकेता 

स्थानीय तहको अधिकारमाथि सिडियोको हस्तक्षेप

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारबाट आफ्नो पालिकाभित्रका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सुरु गरेको थियो । 
तर, बुधबार अकस्मात विद्यालयमा प्रहरी आएर विद्यालयमा सिडियो कार्यालयको आदेश भनेर बन्द गर्न दबाब दिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । 

 

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएरै सञ्चालन गर्न सकिने देखिएपछि सुरु गरेको नगरप्रमुख चालिसेको भनाइ छ ।
विद्यालय सञ्चालन गर्ने÷नगर्ने नगरपालिकाको अधिकार भएकाले सिडियो कार्यालयको रोकावटले नरोकिने प्रमुख चालिसेले जानकारी दिए ।

 

‘हामीले नगरभित्र सञ्चालन गर्न सकिने अवस्था भएरै मंगलबारबाट विद्यालयमा पढाइ सुरु गरेका हौँ,’ उनले भने, ‘आज अकस्मात सिडियो कार्यालयबाट प्रहरी पठाएर बन्द गर्न भनिए पनि पठनपाठन बन्द गर्दैनौँ ।’ नगरपालिकाभित्र सामुदायिक र संस्थागत गरेर १ सय १० वटा विद्यालय छन्, जसमा १७ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयका करिब ७० प्रतिशत विद्यार्थी इन्टरनेट र मोबाइल फोनको पहुँच बाहिर रहेकाले अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नहुने उनले बताए ।

 

‘हाम्रा सामुदायिक विद्यालयका ७० प्रतिशत विद्यार्थीसँग इन्टरनेटको पहुँच छैन,’ उनले भने, ‘यस्तो अवस्थामा अनलाइन पढाउन सम्भव छैन । हाम्रो विद्यालयका शिक्षकले खोप लगाइसक्नुपर्ने भएकाले हामीले विद्यालयमा भौतिक उपस्थितिबाटै पढाउन खोजेका हौँ । तर, हाम्रो अधिकारमाथि अंकुश लगाउन खोजियो ।’ जिल्ला प्रशासनले भने कोभिडको अवस्था कम नभइसकेकाले खोप लगाएका शिक्षक÷शिक्षिकाको संख्या हेरर मात्रै विद्यालय खोल्न जानकारी दिएको छ ।

 

जिप्रका काठमाडौंकी सहायक सिडियो कल्पना घिमिरेले स्थानीय तहको सल्लाहअनुसार कोभिड पूर्ण रूपले नियन्त्रण नभइसकेकाले विद्यालय तत्काल नखोल्न भनिएको बताइन् । ‘हामीले जिल्ला कोभिड व्यवस्थापन समिति र स्थानीय तहको छलफलअनुसार तत्काल विद्यालय खोल्न सक्ने अवस्था नरहेकाले नखोल्ने भनेका हौँ,’ उनले भनिन्, ‘सबैले खोप पाइसक्नुभएको छ भने छलफल गरेरै खोल्न भनेका हौँ । उहाँहरूले सल्लाहबिना खोल्नुभयो ।’ सबैले खोप पाइसकेको भए डाटा उपलब्ध गराएर सल्लाहले खोल्न भनिएको उनको दाबी छ । 

 

गोकर्णेश्वर मात्रै होइन, अहिले देशभर कोभिड कम भएका पालिकाले विद्यालय खोल्ने तयारी थालेका छन् । विराटनगर महानगरपालिकाले पनि विद्यालय खोल्ने तयारी थालेको छ । 


यस्तै, वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्र ‘ग्रिन जोन’ मा भएकाले विद्यालय खोल्न लागेको थियो । तर, त्यहाँ पनि केन्द्रको निर्देशनमा खोल्न रोकिएको थियो । 
माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई संविधानले सुनिश्चित गरेको छ । त्यसमा उनीहरूले आफ्नो अनुकूल विद्यालय खोल्न पाउँछन् ।
कोभिड–१९ का कारण २ वर्षदेखि विद्यालय बन्द हुँदै  देशैभरका विद्यार्थी प्रभावित छन् । स्थानीय तहको अधिकारमा संविधानले नचिनेको संस्थाले हस्तक्षेप गर्न नमिल्ने नगरप्रमुखहरूको बुझाइ छ ।