close

जानकी पालिकामा कुपोषण व्यवस्थापन बहिरंग उपचार केन्द्र उद्घाटन

जानकी पालिकामा कुपोषण व्यवस्थापन बहिरंग उपचार केन्द्र उद्घाटन

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ र ८ मा एकीकृत शीघ्र कुपोषण व्यवस्थापनका निम्ति बहिरंग उपचार केन्द्र उद्घाटन भएको छ ।
जानकी गाउँपालिकाका शिशुलाई शीघ्र कुपोषणबाट बचाउन गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रमा एकीकृत शीघ्र कुपोषण व्यवस्थापनका निम्ति बहिरंग उपचार केन्द्र स्थापना गरिरहेको छ ।


आफ्नै गाउँ–ठाउँमा पोषणसम्बन्धी जानकारी लिन र बच्चाको उपचार गराउन पाएपछि आमाहरू खुसी भएका छन् । वडा नम्बर ८ का कलावति चौधरी पोषणसम्बन्धी जानकारी तथा सेवा लिन यसअघि वडा नम्बर १ दुर्गौली स्वास्थ्य चौकीमा पुग्थिन् । अब आफ्नै ठाउँमा सेवा लिन पाइने भएपछि खुसी छन् ।

 

वडा नम्बर ५ की जानुका चौधरी पनि नजिकै पोषणसम्बन्धी सेवा लिन पाइने भएपछि सहज हुने सुनाउँछिन् । कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष डम्मबहादुर थारुले बच्चालाई कुपोषणबाट जोगाउन गर्भवती आमाले गर्भावस्थादेखि नै खानपिनमा ध्यान दिन जरुरी रहेको बताए ।


‘बच्चालाई कुपोषणबाट बचाउन आमाहरूले गर्भावस्थादेखि नै खानपिनमा ध्यान दिन आवश्यक छ । बच्चा कुपोषित भए आर्थिक, सामाजिक समस्या हुने हुँदा विशेष ख्याल गर्नुपर्छ’, उनले भने ।


वडा नम्बर ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले स्वास्थ्य केन्द्रमा एकीकृत शीघ्र कुपोषण व्यवस्थापनका निम्ति बहिरंग उपचार केन्द्र स्थापना हुँदा वडामा रहेका बच्चालाई कुपोषणबाट बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वडा नम्बर ९ मा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य प्रवाहलाई प्रभावकारी बनाउन बर्थिङ सेन्टर सञ्चालनको पहल गरिरहेको बताए ।

 

‘आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एकीकृत शीघ्र कुपोषण व्यवस्थापनका निम्ति बहिरंग उपचार केन्द्र स्थापना भएको छ । यसले यस वडामा रहेका बच्चालाई कुपोषणबाट बचाउन सहयोग पुग्नेछ । यसको स्तर उन्नतिका लागि पहल गरिरहेका छौँ’, उनले भने । 


पालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कुपोषणको चक्र हटाउन गाउँपालिकाका स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रमा एकीकृत शीघ्र कुपोषण व्यवस्थापनका निम्ति बहिरंग उपचार केन्द्र स्थापना गरिएको जानकारी दिए ।

 

‘बाल मृत्यदर घटाउन र कुपोषणको चक्रलाई तोड्न पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा बहिरंग उपचार केन्द्र स्थापना गरिरहेका छाँै । यसअघि मुनुवा स्वास्थ्य चौकी जानकी र नगर स्वास्थ्य चौकीमा स्थापना गरिसकेका छौँ’, उनले भने ।

 

कार्यक्रममा वडा सदस्य कल्पना खड्का, शेरबहदुर विक, पथरैया स्वास्थ्य चौकीका प्रमुख मीनबहादुर विक, आधारभूत स्वास्थ्य केन्द्र अमरावतिका प्रमुख विष्णु थापा, पथरैया स्वास्थ्य चौकी समिति सदस्य नारायणी भट्टराईलगायतले आ–आफ्ना धारणा राखेका थिए । पालिकाले यसअघि कुपोषणसम्बन्धी जानकारी र कुपोषित बच्चाको उपचार दुर्गौली स्वास्थ्य चौकीबाट दिँदै आएको थियो ।