close

दुहुँमा बाढीपहिरोले खाद्यान्न संकट 

हेलिकोप्टरमार्फत ढुवानी गरिदिन पालिका अध्यक्षको प्रजिअलाई निवेदन

दुहुँमा बाढीपहिरोले खाद्यान्न संकट 

हेलिकोप्टरमार्फत ढुवानी गरिदिन पालिका अध्यक्षको प्रजिअलाई निवेदन

Trulli
ADVERTISEMENT

दार्चुला– गत आइतबार रातीको निरन्तरको वर्षाका कारण जिल्ला सदरमुकाम खलंगा र दुहुँ गाउँपालिका तथा व्यास गाउँपालिकालाई जोड्ने दार्चुला–टिंकर सडकको ठाउँ–ठाउँमा पहिरो खसेर पूरै सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै यातायातका साधन ठप्प भएका छन् ।


बाढीपहिरोका कारण दुहुँ गाउँपालिकामा खाद्यान्न अभाव हुने भएपछि पालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले हेलिकोप्टरबाट दुहुँमा खाद्यान्न ढुवानी गरिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदनमार्फत आग्रह गरेका हुन् । 


बाटोघाटो नहुँदा जिल्ला सदरमुकामसम्मको यातायात अवरुद्ध भएपछि खाद्यान्न ढुवानी हुन नसक्दा हेलिकोप्टरमार्फत ढुवानीका लागी प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई निवेदन दिइएको अध्यक्ष कार्कीले बताए ।

 

जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलास्थित गौरिलमाडौं माविमा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिदिन भनिएको उनको भनाइ छ । 


पालिकाका लागि तत्काल १ सय क्विन्टल चामल, ५ क्विन्टल दाल, २ सय लिटर तेल, ५ क्विन्टल नुन र २० एमएम तथा १६ एमएमको ५ हजार मिटर पाइप ढुवानी गरिदिन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्यान्न ढुवानीका लागि पहल गरिने बताए ।

 

बाढीपहिरोले क्षति पुर्‍याएको विद्युतीय संरचना तत्काल निर्माण गरी विद्युत् सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन गरिदिन गाउँपालिका अध्यक्ष कार्कीले प्रमुख जिल्ला अधिकारी जोशीलाई आग्रह गरेका छन् ।


बुधबार बिहान पालिका अध्यक्ष कार्की, उपाध्यक्ष ईश्वरी जोशी, वडा नम्बर ५ का वडाध्यक्ष दौलतसिंह महर र एमाले नेता नरेन्द्रसिंह बडाल जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारीसँग समस्या राखेका थिए ।


प्रजिअ जोशीले विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख मोहनदेव जोशीलाई बोलाएर दुहुँमा सक्दो छिटो विद्युत् मर्मत गर्न निर्देशन दिएका छन् ।प्राधिकरण प्रमुख जोशीले तत्काल फिल्ड कर्मचारी पठाई क्षतिको विवरण र मर्मतका लागि आवश्यक सामग्री व्यवस्थापन गरी काम थालिने बताए ।


लघुजलविद्युत्कै लाइनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने या छुट्टै लाइन विस्तार गरी विद्युत सेवा प्रवाह गर्ने भन्नेबारे अध्ययनपछि मात्रै थाहा हुने प्राधिकरण दार्चुलाले जनाएको छ । 


बाढीले दुहुँ गाउँपालिका वडा नम्बर ३ मा रहेको ४३ किलोवाट क्षमताको पहिलो कालागाड लघुजलविद्युत्, वडा नम्बर ५ मा रहेको ४० किलोवाट क्षमताको दोस्रो कालागाड लघुजलविद्युत, वडा नम्बर १ मा रहेको १४ किलोवाट क्षमताको भाष्कर लघुजलविद्युत्, वडा नम्बर २ मा रहेको ३३ किलोवाट क्षमताको नरुली कलागाड लघुजलविद्युत् र वडा नम्बर ५ मा रहेको ९ किलोवाट क्षमताको सिमार लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको अध्यक्ष कार्की जानकारी दिए ।