close

विद्यालय खुलाउन छलफलमा जुटे उपत्यकाका स्थानीय तह 

विज्ञ भन्छन्, ‘जोखिम घटेको छैन

विद्यालय खुलाउन छलफलमा जुटे उपत्यकाका स्थानीय तह 

विज्ञ भन्छन्, ‘जोखिम घटेको छैन

Trulli
ADVERTISEMENT

काठमाडौं– उपत्यकाका जिल्ला प्रशासन कार्यालय कोरोना महामारीका कारण ५ महिनादेखि बन्द विद्यालय खुलाउन लचिलो भएसँगै स्थानीय तहहरू छलफलमा जुटेका छन् ।

 

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा विद्यालय भौतिक रूपमा सञ्चालन गर्न सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको थियो । निर्णयसँगै पालिकाहरूले आफ्नो क्षेत्रभित्रका सरोकारवालासँग छलफल अगाडि बढाएका छन् ।

 

काठमाडौं महानगरले शिक्षा समितिको बैठक बसेर मात्रै निर्णय गरिने जानकारी दिएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिक्षा समितिको छिट्टै बैठक बसेर निर्णय गर्ने बताए ।


‘हामी छिट्टै बैठक बसेर विद्यालय खोल्ने/नखोल्नेबारे निर्णय गर्र्छौं,’ उनले भने, ‘हिजो मात्रै प्रशासनको निर्णय भएकाले तयारी गरिसकेका छैनौँ । स्वास्थ्य विज्ञसँग छलफल गरेर अगाडि बढ्छौँ ।’ 

 

कीर्तिपुर नगरपालिकाले विद्यालय खुलाउन छलफल सुरु गर्न लागेको नगर प्रमुख रमेश महर्जनले बताए । ‘प्रशासनले समन्वय गरेर खुलाउन सक्ने निर्णय गरेपछि छलफल गरिरहेका छौँ,’ उनले भने, ‘विद्यालय खुलाउने योजनामा छौँ ।’ अहिले विद्यालय भौतिक रूपमै खुलाएर बीचमा असहज भए पुनः बन्द गर्न सकिने उनले बताए । 

 

ललितपुर महानगरले पनि विद्यालय खुलाउन छलफल भइरहेको जानकारी दिएको छ । सबै वडा कार्यलयसँग समन्वय गरेर विद्यालय खोल्ने ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘हामी छलफलका क्रममा छौँ,’ उनले भने, ‘सबै वडा कार्यालयसँग समन्वय गरेर खोल्ने तयारीमा छौँ ।’

 

भक्तपुर नगरपालिकाले भने के गर्ने भनेर निर्णय गरिसकेको छैन । छलफल गरेर अगाडि बढ्ने नगरप्रमुख सुनील प्रजापतिले बताए । ‘हामीले निर्णय गरेका छैनौँ,’ उनले भने, ‘सबै पक्षको सल्लाह लिएर अगाडि बढ्छौँ  ।’

 

उपत्यकाका नगरपालिकामध्ये गोकर्णेश्वरले मंगलबारबाट विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न थालेको थियो । तर, बुधबार प्रशासनले सहमतिबिना सञ्चालन गरेको भन्दै रोक्न खोजेपछि स्थिति अन्योल बनेको थियो ।


नगरप्रमुख सन्तोष चालिसेले विद्यालय बन्द नगर्ने अडान लिएका थिए । तर, बेलुका जिल्ला प्रशासन कार्यालयमा बसेको उपत्यकाका सिडियोको बैठकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्न दिने सहमति भएको थियो । 


उपत्यकाका स्थानीय तह विद्यालय खुलाउन छलफलमा जुटिरहेका बेला विज्ञहरू भने अहिले नै हतार गर्नु जोखिम भएको बताउँछन् । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जोखिम कम नभइसकेकाले विद्यालय खुलाउने अवस्था हाल नभएको बताए ।  ‘विद्यालय खोल्ने÷नखोल्ने हाम्रो अधिकारको कुरा होइन,’ उनले भने, ‘हामीले जोखिम हेर्ने हो । जोखिम कम भइसकेको छैन ।’

 

उनका अनुसार सबै समूहले खोप लगाइनसकेको हुनाले जोखिम कायम रहेको हो । विद्यालयले सजगता अपनाएर सञ्चालन गर्ने भने पनि त्यो सम्भव नभएको उनको भनाइ छ । ‘विद्यालयका बालबालिकालाई खोप लगाइएको छैन,’ डा. अधिकारी भन्छन्, ‘उनीहरू जोखिममै छन् । अहिलेसम्मको अवस्था हेर्दा मापदण्ड पालना गरेर सुरक्षित हुन्छौँ भन्नेमा विश्वास छैन ।’ तत्काल सबैभन्दा ठूलो समस्या महामारी भएकाले यसबाट बच्नु मुख्य सावधानी हुने उनको बुझाइ छ ।