close

भीरकोटको आफ्नै पाठ्यसामग्री

भीरकोटको आफ्नै पाठ्यसामग्री

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको भीरकोट नगरपालिकाले आउँदो शैक्षिक सत्र २०७८ देखि पढाउने गरी स्थानीय तहको पाठ्यपुस्तक ल्याउने भएको छ ।

आउँदो शैक्षिक सत्रबाट ‘हाम्रो भीरकोट’ नामक पाठ्यक्रम र सोहीअनुसारको पाठ्यपुस्तक पढाइने भएको हो । नयाँ पाठ्यक्रम सुरु भएसँगै यहाँका विद्यार्थीले भीरकोटका बारेमा सम्पूर्ण जानकारी पाउने अपेक्षा लिइएको छ ।


स्थानीय तहको नीतिगत व्यवस्थाको उपयोग गर्दै भीरकोट आफ्नाे तहको मौलिक पाठ्यक्रम प्रकाशनको तयारीमा जुटेको नगरप्रमुख छायाराम खनालले जानकारी दिए ।


‘हाम्रो भीरकोट नामक पाठ्यक्रम र सोहीअनुसारको पाठ्यपुस्तक तयार गर्ने गरी शिक्षाविद् तथा विज्ञहरूले काम थालेका छन्’, नगरप्रमुख खनालले भने । पाठ्यक्रमविज्ञ पुरुषोत्तम घिमिरे र प्रह्लाद अर्यालले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयबारे उनीहरूलाई प्रशिक्षण दिएका छन् ।


स्थानीय तहलाई मौलिक पाठ्यक्रम समावेश गर्न पाउने गरी नीतिगत व्यवस्थाको भीरकोटले उपयोग गरेको हो ।

 

शिक्षा सरोकारवाला र विज्ञहरूको सुझाव समेटेर नगरपालिकाले स्थानीय सम्पदा, परम्परागत अभ्यास, रोजगारमूलक शिक्षा, कृषि, स्वास्थ्य, अनुसन्धान, पर्यटन र स्थानीय मौलिक परम्परा र सिकाइलाई पाठ्यक्रममा समावेश गरिने उपप्रमुख सीमा क्षेत्री कर्माचार्यले बताइन् । ‘नगरका ४५ सामुदायिक विद्यालयका १ देखि ८ कक्षासम्मका लागि एक विषयको स्थानीय पाठ्यक्रम निर्माण गरिनेछ’, उनले भनिन् ।


पाठ्यपुस्तक लेखन सुरु गरेको साभ नेपालका अध्यक्ष तुल्सी प्रभास खनालले जानकारी दिए । नगरपालिकाले महत्त्वपूर्ण काम गरेको बताउँदै पूर्वसंसाद खगेन्द्रराज रेग्मीले भीरकोटको इतिहास र पहिचान बुझाउने गरी भावी पुस्तासम्मका लागि उपयोग हुने पाठ्यक्रम निर्माण गर्न सुझाए ।


प्याब्सन केन्द्रीय सदस्य अमृत अर्याल, वडा अध्यक्ष चन्द्रबहादुर बस्नेत, शिक्षक कृष्ण पौडेल, नसिवद्दीन मियालगायतले पाठ्यक्रम निर्माणमा स्थानीय विविधता र स्थानीय सम्पदालाई अनिर्वाय समेट्न  सुझाव दिए । 


तीन दिने पाठ्यक्रम निर्माण प्रशिक्षणमा भीरकोटका विभिन्न विषयमा जानकार राख्ने ५५ जना सहभागी थिए । उनीहरूले तयार पारेको पाठ्यक्रमबाट यहाँका विद्यार्थीले भीरकोटबारे पढ्न पाउनेछन् ।