सहरको कथा

सेन्झेन अर्थात् चीनको चमत्कार


  • change font
  • change font
  • change font

चालीस वर्षअघि चीनको दक्षिणपूर्वमा अवस्थित सेन्झेन सहरको अस्तित्व थिएन । तर, आज यो सहरलाई चिनियाँ चमत्कारको प्रतीक मानिन्छ ।चार दशकमा यो सहरले गरेको प्रगति अपत्यारिलो छ । त्यसैले यसलेअनेकौँ उपनामसमेत कमाएको छ । धेरैले यो ठाउँलाई चीनको ‘सिलिकन भ्याली’का रूपमा चिन्छन् । कसैले ‘विश्वको झ्याल’ भन्छन् भने कसैले ‘रातारात बनेको सहर’ भन्छन् । सेन्झेन अर्थतन्त्र, विज्ञान, प्रविधि, व्यापार र नवप्रवर्तनको क्षेत्रमा चीनको सबैभन्दा अगुवा सहर हो ।


हङकङ र मकाओसँगै जोडिएको सेन्झेन सन् १९७० को दशकसम्म सानो गाउँ थियो । यहाँका केही हजार बासिन्दा माछा मारेर गुजारा चलाउँथे । तर, चीनले खुलापनको नीति लिएसँगै सरकारले यो सहरलाई विशेष आर्थिक क्षेत्र घोषणा गरेपछि यो स्थानको भाग्य बदलियो ।
सन् १९८१ मा सेन्झेनको जनसंख्या ३ लाख १० हजार थियो । त्यसबेला यो सहरको कुल गार्हस्थ उत्पादन (जीडीपी) १६ करोड डलर थियो । तर, सन् २०१९ मा यहाँको जनसंख्या १ करोड २५ लाख पुग्यो भने जीडीपी ३ सय ८८ अर्ब डलर । प्रतिव्यक्ति आय ३० हजार डलरभन्दा माथि पुग्यो ।


यदि सिलिकन भ्याली विश्व सफ्टवेयरको केन्द्र हो भने सेन्झेन हार्डवेयरको । यहाँ चीनका ख्यातिप्राप्त धेरै कम्पनीका कारखाना छन् । सूचीकृत कम्पनी मात्रै सवा सयभन्दा बढी छन् । यहाँ टेन्सेन्ट, जीटीई, वानप्लस, हुवावे, एभरग्रान्ड ग्रुप, नेपस्टार, चाइना मर्चेन्ट बैंकजस्ता कम्पनीका मुख्यालय छन् ।


सेन्झेन बेइजिङजस्तो सहर होइन । बेइजिङमा दर्जनौँ प्रतिष्ठित विश्वविद्यालय छन्, सेन्झेनमा एकाध । तर, चीनभरि उच्च अंकका साथ स्नातक पास भएकाहरू सेन्झेनमा झुम्मिन्छन् ।


अविश्वसनीय प्रगति  


सन् १९७९ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकपछि गुआङदोङ प्रान्तका प्रमुख सी चोङसुनले सेन्झेनलाई व्यापारिक क्षेत्र घोषणा गर्ने प्रस्ताव राखे । सन् १९७९ मा केन्द्र सरकारले सो प्रस्ताव अनुमोदन ग¥यो र सेन्झेन सहरको स्थापना भयो ।सन् १९८० मा यो सहरलाई विशेष आर्थिक क्षेत्र घोषणा गरियो ।सुरुमा चीनले चार वटा क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गरेको थियो– सेन्झेन, सान्ताउ, सियामेन र चुहाई ।त्यसयता सेन्झेनको उन्नति जुन गतिले भयो, त्यसलाई टक्कर दिनसक्ने अर्को कुनै सहर छैन ।


अहिले सेन्झेन सफलताको कथा बनेको छ । तर, यसको स्थापना र विकास विवादले घेरिएको थियो । देङको परीक्षण थियो यो,सहर । त्यसबेला विशेष आर्थिक क्षेत्रको विकास कसरी गर्ने भन्ने मोडेल चिनियाँ नेताहरूसँग थिएन । सुरुमा यो सहरको भविष्यबारे अनेकौँ प्रश्न उठेपछि देङ स्याओपिङले ‘ढुंगा छामेर नदी तर्न’ सुझाएका थिए ।


विशेष आर्थिक क्षेत्र घोषणा गरेपछि बाँकी चीनमा लागू हुने नियम सेन्झेनमा लागू भएन ।बाँकी चीनभन्दा यो ठाउँ कति फरक थियो भने यो सहरलाई काँडेतार लगाएर छुट्याइएको थियो । सन् २००६ सम्म पनि चीनका नागरिकलाई समेत यो क्षेत्रमा प्रवेश गर्न विशेष अनुमति आवश्यक पथ्र्यो । सन् १९८४ को सेन्झेन भ्रमणका क्रममा देङले विशेष आर्थिक क्षेत्र ‘प्रविधि, व्यवस्थापन, ज्ञान र विदेशनीतिको झ्याल’ भएको बताएका थिए ।


सेन्झेनको पहिलो मेट्रो स्टेसन सन् २००४ मा खुलेको थियो, अहिले सो सहरमा २ सय ६६ स्टेसन छन्, जहाँ दैनिक ६६ लाख मानिस यात्रा गर्छन् । सन् १९८८ मा ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनले सेन्झेनमा कारखाना खोलेको थियो । २० वर्षमा उसका कामदार चार लाख पुगेका थिए । सन् २०१७ मा तिनको संख्या १० लाख पुग्यो ।


सन् १९८० को दशकमा सेन्झेनस्थित ५० तले इन्टरनेसनल ट्रेड सेन्टर चीनको सबैभन्दा अग्लो भवन थियो । तर, वर्ष बित्दै जाँदा सोही हाराहारी र त्यसलाई पनि उछिन्ने भवन त्यहाँ बने ।


नक्कलबाट नवप्रवर्तनतर्फ


सन् १९९० को दशकमा सेन्झेनमा खचाखच बजार, कम्पनी, उद्यमी र दक्ष कामदार थिए । त्यसैबेला सुरु भयो– विश्वका प्रसिद्ध ब्रान्डको नक्कल गर्ने काम । एमपीथ्री प्लेयर, प्लेस्टेसनदेखि स्मार्टफोनसम्म नक्कली बन्न थाले ।यसले नेपालमा समेत उखानै बन्यो,‘मेड इन चाइना आज छ, भोलि छैन ।’ तर, एक दशक नबित्दै सेन्झेनले आफ्नो परिचय बदल्यो ।


अहिले यो सहरले आफ्नो जीडीपीको ४.२५ प्रतिशत रकम अनुसन्धानमा लगानी गर्छ । त्यो समग्र चीनको भन्दा दोब्बर दर हो । अहिले विदेशी कम्पनी पनि यो क्षेत्रमा आफ्नो कारखाना खोल्न आउने गर्छन् । एप्पलले भन्दा सेन्झेनमा मुख्यालय रहेको हुवावेले अनुसन्धानमा बढी रकम खर्च गर्छ ।


अर्को पक्ष, नवप्रवर्तनलाई सेन्झेनले खुला रूपमा स्वागत गर्छ । अमेरिकालगायत पश्चिमा मुलुकमा कर्पोरेट अन्वेषणको काम गुप्त रूपमा हुन्छ । तर, यहाँ त्यस्तो स्थिति छैन । थुप्रै कम्पनीले पश्चिमाहरूको नक्कल गरेर उत्पादन सुरु गरेका हुन् । ‘सेन्झेनमा नयाँ आइडिया बोकेर जोसुकै आएर त्यसको परीक्षण, उत्पादन गरी बजारमा लैजान सक्छ,’ सेन्झेनस्थित ओपन इनोभेसन ल्याबका डेविड ली भन्छन्् ।सेन्झेनको हुवाचिङबेई इलेक्ट्रोनिक्स मार्केटमा रहेका १० तलामा भएका हरेक कोठाले पर्ल रिभर डेल्टामा रहेका कुनै न कुनै कारखानाको प्रतिनिधित्व गर्छन् । जसले अर्डर पाएको एक साताभित्र लाखौँको परिमाणमा सामग्री आपूर्ति गर्न सक्छन् ।


भनिन्छ, सेन्झेनमा बन्ने कुनै फोन १० हजार गोटा मात्रै बिक्री हुन सक्यो भने पनि लगानीकर्ताको लगानी उठ्छ ।यो विद्युतीय बस चलाउने विश्वको पहिलो ठूलो सहर सेन्जेनमा करिब १६ हजार यस्ता बस गुड्छन् । करिब १२ हजार ट्याक्सी पनि विद्युतीय नै छन् ।
यो सहरको सफलताको श्रेय लिने विषयमा समेत विवाद छ । सरकार चिनियाँ विशेषतासहितको समाजवादका कारण सेन्झेन सफल भएको बताउँछ । देङ स्यायोपिङले अपनाएको नीतिलाई जस दिन्छ । पूर्वाधारमा लगानी गरेकै कारण उच्च आर्थिक वृद्धि सम्भव भएको बताउँछ ।पश्चिमाहरू विदेशी लगानीका कारण सेन्झेन विकसित भएको दाबी गर्छन् ।


चीनका लागि मोडल


चीनका राजनीतिज्ञहरूले पछिल्लो समय सेन्झेनकै नक्कल गरेर मुलुकभर विभिन्न सहर स्थापना गरेका छन् । सांघाईकै पुदोङ जिल्ला सेन्झेनबाट प्रभावित देखिन्छ ।सन् २०१७ मा राष्ट्रपति सी चिनफिङले सियोङनान नामक कृषिमा आधारित स्थानलाई अर्को विशेष आर्थिक क्षेत्र घोषणा गरे ।


बेइजिङको स्याटलाइट सहरका रूपमा परिचित यो ठाउँ पनि आगामी दिनमा प्रविधि र नवप्रर्वतनको हब बन्ने अपेक्षा गरिएको छ । यो सहर हेबेई प्रान्तमा पर्छ । तर, यो सहर चीनका अरू सबै विशेष आर्थिक क्षेत्रभन्दा फरक छ । अन्य आर्थिक क्षेत्र समुद्रीकिनारमा छन् भने सियोङनान समुद्रबाट डेढ सय किलोमिटर टाढा छ ।
(एजेन्सीको सहयोगमा)