close

महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउँछ : सभापति देउवा 

महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउँछ : सभापति देउवा 

Trulli
ADVERTISEMENT

भक्तपुर– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आग्रह गरेका छन् । 

 

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै सभापति देउवाले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए । 

 

सभापति देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो भने । उनले कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस संक्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गरेकाछन् । 

 

नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफदिँदैं प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती पनि दिए । प्रधानमन्त्री देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताए । 

 

उनले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुआत भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरी पार्टीलाई थप सशक्त ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे । 

कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको महाधिवेशन वडास्तरबाट सुरु भइसकेको बताउँदै यसलाई सफल पार्न आग्रह गरे । 

 

     
कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे । उनले अबको स्थानीय तहदेखि संघीय निर्वाचनसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको बताए । 

 

भक्तपुरको चारवटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन शुरु भएको बताउँदै थापाले जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसहमति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताए । भक्तपुर जिल्लामा कांग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा ३ हजार ७८२ र क्षेत्र नं २ मा ६ हजार ५०४ जना छन् ।