close

हरितालिकामा खोलिँदै पशुपतिनाथ

हरितालिकामा खोलिँदै पशुपतिनाथ

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण ५ महिनादेखि बन्द हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर पशुपतिनाथ मन्दिर खोल्ने तयारी थालिएको छ ।


हरितालिका पर्वलाई लक्षित गरी मन्दिर पशुपतिनाथ मन्दिर खुलाउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग परामर्श गरिएको कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए ।


कोरोना जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिर, देवालय, शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।   


अहिले कोरोना जोखिम कम हुँदै गएपछि नेपाली महिलाको हरितालिका पर्व तिज अवसर पारेर मन्दिर खुलाउने तयारी भएको हो । कोषको शुक्रबार बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने बताइएको छ ।   


 पशुपतिनाथसँगै पाशुपत क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् । पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।


भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनको भनाइ छ । मन्दिर खुला गरिएपछि पाशपत क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ ।  दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी छ ।   
   
२०७६ चैतमा कोरोना महामारी नेपालमा देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । १० महिनापछि १ पुस २०७७ मा भक्तजनका लागि मन्दिर खुला गरिएको थियो ।


सुरुमा दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो । बिहान ६ देखि अपराह्न २ बजेसम्म मात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो ।  

 
भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका निम्ति भने पशुपति क्षेत्र २०७६ चैतदेखि नै बन्द छ । पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द हुँदा कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ गुमेको छ ।