close

अनि फेरियो झापा गाउँको मुहार...

९ कक्षामा साइकल, ११ मा ‘फि’ ९९ प्रतिशत घरमा बिजुली

अनि फेरियो झापा गाउँको मुहार...

९ कक्षामा साइकल, ११ मा ‘फि’ ९९ प्रतिशत घरमा बिजुली

Trulli
ADVERTISEMENT

झापा - झापा गाउँपालिका झापाका अरू स्थानीय तहमध्ये विकासका हिसाबले पछाडि परेको गाउँपालिका हो । झापा जिल्लाको पुरानो सदरमुकामको रूपमा चिनिएको झापा गाउँपालिका २०१९ सालपछि सदरमुकाम चन्द्रगढीमा सरेसँगै विकासको हिसाबले पछाडि परेको हो । 

 

तर पनि स्थानीय जनप्रतिनिधिको प्रयासमा गाउँपालिकाले मुहार फेरिरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले देखिने गरी परिवर्तन हुन थालेको छ । जनप्रतिनिधिको अहोरात्र मिहिनेतले यहाँको विकास निर्माण अगाडि बढेको छ । 

 

जनताको चासो र आवश्यकताका आधारमा गाउँपालिकाले विभिन्न योजनाहरू बनाएको छ । योजनाअनुसार ती कामहरू समेत भइरहेका छन् । कोरोना भइरसले विश्वलाई त्रसित बनाएका बेला गाउँपालिकाले विकास निर्माणका कामलाई नरोकी आफ्ना योजनाअनुसार काम गरिरहेका कारण गाउँपालिकाभित्र पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र कृषिमा सोचेअनुरूप काम भएको स्थानीय बताउँछन् । 

 

स्थानीयवासीसमेत जनप्रतिनिधि र कर्मचारीहरूको काममा सन्तुष्ट देखिन्छन् । अहिले गाउँपालिका जाने मुख्य सडक निर्माणमा केही ढिला भएको अनुभव भए पनि त्यसको पहल भइरहेको जनप्रतिनिधि र कर्मचारीहरूले बताएका छन् । 

 

झापा गाउँपालिकाको कार्यालय कामाटोलीमा बन्ने क्रमसँगै सबै वडाबाट कार्यालय पुग्ने बाटो पक्की गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । शिक्षा क्षेत्रमा समेत यस गाउँपालिकाले काम गरिरहेको छ । शिक्षाको पहुँचमा सबै बालबालिकालाई पुर्‍याउन विभिन्न योजनासमेत गाउँपालिकाले बनाइरहेको अध्यक्ष साहको भनाइ छ । 

 

कक्षा ९ मा पढ्ने छात्राहरूलाई साइकल वितरणदेखि कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरूलाई लाग्ने शुल्क गाउँपालिकाले व्यहोरिरहेको छ । मुस्लिम समुदायका बालबालिकाहरू पढ्ने मदरसालाई पढ्नका लागि राम्रो व्यवस्था मिलाउन भवन बनाउनेदेखि शिक्षकलाई तलब खुवाउनेसम्मको व्यवस्था गाउँपालिकाले गरेको छ । 

 

जनप्रतिनिधि आउनुपूर्व झापा गाउँपालिकामा ५० प्रतिशत ठाउँमा बिजुली बलेको थियो तर अहिले करिब ९९ प्रतिशत ठाउँमा बिजुली बलिसकेको छ । यससँगै बाँकी रहेको एक प्रतिशत ठाउँमा बिजुली पुर्‍याउने काम सकेर सिँचाइ नपुगेका ठाउँमा मोटर बोरिङको व्यवस्था गर्ने र खेतबारीमै बिजुली पुर्‍याउने गाउँपालिकाको योजना छ । झापालाई मकै जोन बनाउनेसमेत गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । 

 

गाउँपालिकाले करिब एक दर्जन ठाउँमा पुल निर्माण गरिसकेको छ । वडा नम्बर– १ को सालमार र सितुमाई जाने ठाउँमा झोलुङ्गे पुल र कुवाढीबाट झापा बजार जाने बाटोको पुल बनिसकेको छ । त्यसैगरी कामाटोलीबाट सिमल बाडी बजार जाने बाटोमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । 

 

यससँगै बाटो पक्की गर्ने काम भइरहेको छ । झापा गाउँपालिका अध्यक्ष शाहले विकास निर्माणमा केही ढिला भएको स्वीकार्दै कोरोना भाइरसका कारण पछिल्लो समय काममा केही बाधा पुगेको बताए ।

 

गाउँपालिकाभित्र रहेका रानीवनलगायत पर्यटकीय क्षेत्रहरूको विकास गर्न पनि गाउँपालिकाले प्रयास गरिरहेको छ । पर्यटन वर्ष २०२० मनाइरहँदा कोरोना भाइरसले यो योजना विफल बनाइदिएको छ तथापि पर्यटकीय क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेट नै छुट्याएर काम गरिरहेको छ । 

 

यसरी नै देशकै सबैभन्दा बढी मुद्दा मिलाउन यो गाउँपालिका सफल रहेको गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताइन् । गाउँघरमै मुद्दाहरू मिल्दा दुवै पक्षले जित्ने र हारेको महसुस कसैलाई नहुने भएकाले त्यसमा पहल गरिएको र उक्त कार्यमा सबैको सहयोग रहेको उनको भनाइ छ ।

 

कोरोनाको महामारीमा पनि झापा गाउँपालिकाले विकास निर्माणलाई निरन्तरता दिइरहेको छ । कोरोना भाइरसले केही असहज परिस्थिति सिर्जना गरे पनि विकास निर्माणको हिसाबले गाउँपालिकाले सफलता हासिल गरेको जनप्रतिनिधिको बुझाइ छ । यससँगै अनुगमनसमेत प्रभावकारी बनेको गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताइन् ।

 

आमनागरिकको इच्छानुसार सन्तुलित हिसाबले दिगो पूर्वाधारयुक्त गाउँपालिका निर्माण गर्न गाउँपालिकाले विभिन्न काम गरिरहेको छ । स्थानीय सरकार बनिसकेपछि यहाँ पूर्वाधारको हिसाबले केही न केही परिवर्तन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए ।

 

शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन भएको र आगामी दिनहरुरूमा पनि थप नयाँ कामहरू हुने निरौलाको भनाइ छ ।