close

चुरेका पहिरोपीडितको सडकमै बास 

चुरेका पहिरोपीडितको सडकमै बास 

Trulli
ADVERTISEMENT

कैलाली–कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा १९ घरधुरीका परिवार चुरे पहिरोका कारण विस्थापित भएर सडक किनारामा पाल टाँगेर बस्न बाध्य छन् । 
लगातारको वर्षाका कारण केही दिनअघि पहिरोले घर पुरेपछि उनीहरू विस्थापित भई सडकमा पाल टाँगेर बस्न बाध्य भएका हुन् ।


चुरे गाउँपालिका वडा नम्बर ५ स्थित काफल गैरा, गोपाले, मालचुरे, भुल्केपानी र निङलाडीलगायत स्थानमा जमिन भासिनुका साथै पहिरोले घर पुरेर स्थानीय विस्थापित हुन पुगेको वडाध्यक्ष नरबहादुर साउदले बताए ।


उनका अनुसार पहिरोले घर मात्र पुरेको छैन, खेतबारी, गाईगोरुसँगै अन्नपातसमेत परेको छ । विस्थापित परिवार अहिले भीमदत्त राजमार्गको छेउछाउ बस्न बाध्य भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।


पहिरोले विस्थापित परिवारको लगत संकलन गरेर जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाउने काम भइरहेको वडाध्यक्ष तामाङको भनाइ छ । वडा कार्यालयले तत्कालका लागि त्रिपाल व्यवस्था गरेको छ ।


लालाबालासहित सडकमा बास बस्न पुगेका परिवारले आफूहरूलाई खानसमेत नभएको गुनासो गरेका छन् । पहिरोपीडित काफल गैंराका भीमबहादुर तमाङले वडा कार्यालयले त्रिपाल मात्र दिएको बताउँदै पालिकाका कुनै पनि जनप्रतिनिधि अहिलेसम्म अवस्था बुझ्न नआएको गुनासो गरे ।


स्थानीय कमलबहादुर लामाले पहिरोका कारण धेरै क्षति भएको बताउँदै सरकारले व्यवस्थित बसोबास व्यवस्था मिलाइदिन माग गरे । पहिरोपीडित परिवारलाई कांग्रेसका स्थानीय कार्यकर्ताले राहत वितरण गरेको खानीडाँडाका बालकृष्ण सापकोटाले बताए । उनका अनुसार तत्कालका लागि १ कठ्ठा चामल, नुन, दाल र तेल पहिरोपीडित परिवारलाई वितरण गरिएको हो ।