close

कोभ–२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गरिने 

कोभ–२ र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गरिने 

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरु गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको  हो ।  

 

भदौ १० को मन्त्रिपरिषद्को बैठकले ती  रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो ।   परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने जानकारी दिए । उनले कोभ–२ विरुद्धको ‘एमआरएनए’ परिषद्ले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा र  हैजाको ‘कोलेरा’ को परीक्षण बीपीसहित,  धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गर्ने बताए ।

 

खोप उत्पादक कम्पनीले खोप ‘एमआरएनए’ पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न थालिएको हो । चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएन’ खोप नेपालमा परीक्षण गर्न थालिएको उनले बताए । 

 

कम्पनीले २८ हजार जनामा परीक्षण गर्ने र नेपालमा तीन हजार जनामा परीक्षण गर्ने उनले जानकारी दिए ।  तेस्रो क्लिनिकल ट्रायल बीपी प्रतिष्ठान धरान हुनेछ ।

 

खोपको परीक्षण  प्रयोगशाला र जनावरमा गरिन्छ । मानिसमा पहिलो र दोस्रो चरणको परीक्षण गर्दा थोरै जनसंख्यामा गरिन्छ । ‘खोप परीक्षण गर्दा धेरैमा कति सुरक्षित छ भन्ने हेरिन्छ,’ कार्यकारी निर्देशक डा ज्ञवालीले भने, ‘तेस्रो चरणमा परीक्षणमा धेरै सुरक्षित भए मात्र खोप लगाउन अनुमति दिइन्छ ।’ परीक्षणका क्रममा खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि अध्ययन गरिन्छ । उनले परीक्षण गर्दा कुनै व्यक्तिमा कुुनै समस्या परे त्यसको सम्पूर्ण जिम्मा खोप उत्पादक कम्पनीले लिने गर्ने बताए । 

    

परीक्षणका लागि चीनबाट खोप अझै आइसकेको छैन । परिषद्ले सुनसरी जिल्लाका स्थानीयवासीमा परीक्षण गर्ने जनाएको छ । अहिले नेपालमा प्रयोग गरिएका खोप कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप बाहिरी मुलुकमा नै परीक्षण गरिएका हुन् । नेपालमा परीक्षण गर्दा नेपालीको वंशाणुगत गुणअनुसार कति प्रभावकारी हुन्छ भन्ने थाहा हुने परिषद्का कार्यकारी निर्देशक डा ज्ञवालीले जानकारी दिए ।

    

परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले हैजाविरुद्धको खोप ‘कोलेरा’ १ देखि ४० वर्ष उमेर समूहका करिब दुई हजार पाँच सय व्यक्तिमा गरिने जानकारी दिइन् । हैजाविरुद्धको खोप कोरियन उत्पादक कम्पनीको सहयोगमा परीक्षण गरिन थालेको हो । कोलेरा खोप दुई हप्ताको बीचमा दुईपटक लगाउनुपर्ने हुन्छ । 

    
    

उनका अनुसार अहिलेसम्म विभागले कोभिड–१९ आपत्कालीन प्रयोगका लागि भारतबाट उत्पादिक खोप कोभिसिल्ड र कोभ्याक्सिन,  चीनबाट सिनोफार्मको कम्पनीको भेरोसेल र सिनोभ्याक्स, रसियन कम्पनी स्पुतनिक ‘भी’र अमेरिकन खोप जोन्सन एन्ड जोन्सनलाई अनुमति प्रदान गरेको छ । नेपालमा अहिलेसम्म एक करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।