close

नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना 

नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना 

Trulli
ADVERTISEMENT

चितवन– भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । 

 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्दै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताइन् । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उनले यसलाई व्यवस्थित बनाइने जानकारी दिइन् । उनले भनिन्, ‘अटिजम साँच्चै पीडादायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिँदै आएको छ ।’ यो समस्या केही हदसम्म न्यूनीकरण गर्नका लागि यो विद्यालय स्थापना गरिएको हो ।  

 

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने भएकाले आवश्यक सहयोगका लागि सबैसँग अनुरोध गरिन् । 

 

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्गता भएको भन्दै उमेर विकाससँगै अन्य सीपमा विकास हुन कठिनाइ भएर कुनै पनि क्रियाकलाप दोहोर्‍याउने कार्य यस्ता बालबालिकाले गर्ने बताए । उनीहरु एक्लै बस्न रुचाउने, अर्काले बोलाउँदा राम्रोसँग नबोल्ने जस्ता समस्या हुने गरेको उनले बताए । 

 

विशेष शिक्षा प्रणालीबाट उनीहरुको पढाइ गर्ने भन्दै उनले नेपालमा नै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । महानगर क्षेत्रभित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ । ती बालबालिकालाई दिउँसोको समयमा खाना, पढाइसँगै स्याहारसुसार गरिने छ । विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा  १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।