close

पहाडी वडा पायक हुने गरी कटारीले खोल्यो सम्पर्क कार्यालय

पहाडी वडा पायक हुने गरी कटारीले खोल्यो सम्पर्क कार्यालय

Trulli
ADVERTISEMENT

कटारी– उदयपुरको कटारी नगरपालिकाले पहाडी वडाका वडाबासीलाई ध्यानमा राखेर वडा नम्बर ११ बेतेनीमा नगर कार्यपालिकाको सम्पर्क कार्यालय स्थापना गरेको छ ।


नगरको पहाडी भेगका ५ वटा वडालाई पायक पर्ने गरी सम्पर्क कार्यालय स्थापना गरिएको नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । बेतेनीको नगरपालिकाले जिम्मा लिएर निर्माण गरेको पर्यटन भवनमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।


नगरका ९, १०, ११, १३ र १४ नम्बर वडा गरी ५ वटा पहाडी वडाका नागरिकले अब बेतेनीबाटै योजनाको प्राविधिक स्टिमेट र योजनाको सम्झौता गर्न सक्नेछन् । 
कार्यालयमा इन्जिनियर विनोद खत्रीको नेतृत्वमा सब–इन्जिनियरले सेवाग्राहीलाई सेवा दिनेछन् । पहाडका ती वडाले सेवा पाउन असहज भएकाले छुट्टै गाउँपालिका मागेका थिए ।


हाललाई स्थानीयको समस्या समाधान होस् भनेर त्यहाँका सेवाग्राहीलाई योजनाको कामका लागि कार्यालय स्थापना गरिएको मेयर श्रेष्ठले जानकारी दिए । पहाडी वडाका कामलाई सहजीकरण गर्दै सहज सेवा प्रवाह प्रदान गर्न कार्यालय स्थापना गरिएको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले बताए ।


यसअघि पहाडी भेगका वासिन्दा कटारी बजारस्थित नगरपालिका कार्यालयसम्म सेवा लिन आउनुपर्ने बाध्यता थियो । कार्यालय स्थापनापछि सहज हुनेछ ।भौगोलिक हिसाबले विकट वडाका स्थानीयलाई कटारी बजारसम्म आउन समस्या भएकाले बेतेनीबाटै सेवा दिन कार्यालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा कटारी नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्ट, लेखा अधिकृत दिलीप श्रेष्ठ, सब–इन्जिनियर तथा सूचना अधिकृत ओम मिश्र, वडा प्रतिनिधिलगायत उपस्थित थिए । कार्यालयबाट ५ जना कर्मचारीले सेवा दिनेछन् ।