close

पहिरोले टावर ढालेपछि गण्डकीका चार जिल्ला अन्धकार

६८.२ मेगावाट विद्युत् प्रणाली बाहिर

पहिरोले टावर ढालेपछि गण्डकीका चार जिल्ला अन्धकार

६८.२ मेगावाट विद्युत् प्रणाली बाहिर

Trulli
ADVERTISEMENT

काठमाडौं– निरन्तरको वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढल्दा गण्डकीका चार जिल्लाका नागरिक अन्धकारमा बस्नुपर्ने अवस्थामा पुगेका छन् ।

 

पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको हो । 

 

मोदी–१ जलविद्युत् आयोजनाको विद्युत् मोदी सब–स्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ ।

 

यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युतगृहको ६८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ ।

 

पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको छ । 

 

टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

 

प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको छ । 

 

आपतकालीन रूपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थालेर विद्युत् सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुरु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

 

‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन । इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुचारु गर्न प्रयास गरिरहेका छौँ । यसका लागि बढीमा ५ दिन लाग्न सक्छ’, घिसिङले भने । 

 

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हँुदै मोदी–१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सब–स्टेसन प्रवाह गरिएको छ ।

 

टावर ढलेका कारण अहिले विद्युत प्रवाह बन्द भएको छ । मोदी सब–स्टेसनबाट स्थानीय रूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत् पोखरातर्फ प्रवाह गरिन्छ ।