close

विकट डाँडामा जनश्रमबाटै सडक निर्माण

विकट डाँडामा जनश्रमबाटै सडक निर्माण

Trulli
ADVERTISEMENT

म्याग्दी- 'टुप्पीमाथि ठाउँ छैन, गुर्जामाथि गाउँ छैन', म्याग्देली जनजिब्रोमा झुन्डिएको यो आहानले धवलागिरि गाउँपालिका- १ गुर्जाको भौगोलिक विकटता र दुर्गम अवस्थालाई झल्काउँछ । 


देशका धेरै ठाउँमा एक्जाभेटर, ब्रेकर, ब्याकुहोलोडर प्रयोग गरेर सडक खन्ने होड चलिरहेको छ । तर, गुर्जाका बासिन्दा भने मजदुर परिचालन र स्थानीय औजारको सहरामा सडक खन्न कस्सिएका छन् । 


छिमेकी गाउँ लुलाङदेखि जंगल, भीर, खोल्सा र पहाडको बाटोमा पूरै दिन हिँडेर पुगिने गुर्जाका बासिन्दाले कुटो, कोदालो, गल, घन, बाउसोलगायत घरेलु औजारबाट सडक खनिरहेका छन् । 

 

बर्खामा खेतीबाली लगाएपछिको फुर्सद समय विनापैसा श्रमदान गरेर सडक खनेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘२ सय ३० घरले १० देखि १५ दिनका दरले श्रमदान गरेर ४ सय  मिटर सडक खनेका छन्’, उनले भने, ‘ज्याला नलिने गरी झारा उठेर सडक खनिएको हो ।’ 


गत आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ४५ लाख रुपैयाँ बजेटबाट ७०० मिटर सडक खनिएको थियो । साढे तीन मिटर फराकिलो र ४२४ मिटर सडक खन्ने डिजाइन भए पनि ७०० मिटर खनेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर छन्त्यालले बताए ।


‘चालू आर्थिक वर्षमा पनि गुर्जाको आन्तरिक सडक निर्माण योजनालाई २० लाख रुपैयाँ विनियोजन भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोवास रहेको गुर्जामा उपकरण लैजान सम्भव नभएपछि सडक खन्न मजदुर परिचालन गरिएको हो’, उनले भने ।


लुलाङदेखि करिब चार किलोमिटर सुरुङ खन्ने सम्भाव्यता अध्ययन गरिएको थियो । पाँच  अर्ब रुपैयाँभन्दा बढी लागत पर्ने सुरुङमा लगानी जुटाउन सम्भव नदेखिएपछि गाउँपालिकाले खोरिया-लमसुङ-लुलाङ र गुर्जा दुवैतर्फबाट सडक खन्न सुरु गरेको छ । 


सडक सुविधाको अभावमा बिरामीलाई अस्पताल पुर्‍याउन र धेरै तौल भएका निर्माण सामग्री ढुवानी गर्न हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।  सडक सुविधा भए गुर्जामा उत्पादन हुने आलु, जडीबुटी र भेडाबाख्रा बेचेर वार्षिक करोडौँ रुपैयाँ भित्र्याउन सकिने स्थानीय प्रेम छन्त्याल दाबी गर्छन् ।


यसैगरी गुर्जा हिमाल पर्यटकीय पदमार्ग योजनाअन्तर्गत लत्रबाङ, धुर्म हुँदै मुदी र गुर्जाको सिमानामा पर्ने फोल्टिङखोला जोड्ने पदमार्ग निर्माण भएको छ । पर्यटन मन्त्रालयले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट आठ किलोमिटर पदमार्ग निर्माण भएको हो ।

 

छ किलोमिटर पदमार्ग बनाउने इस्टिमेट भए पनि थप दुई किलोमिटर बढी बनाएको उपभोक्ता समितिले जनाएको छ । तीन महिनासम्म करिब ७० जना गुर्जावासीले जंगलमै बास बसेर पदमार्ग खनेका थिए ।