close

गैँडाकोटमा ६ करोड लगानीमा किसान मार्ट सञ्चालन 

गैँडाकोटमा ६ करोड लगानीमा किसान मार्ट सञ्चालन 

Trulli
ADVERTISEMENT

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ६ करोड रुपैयाँभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र मार्टको उद्घाटन गरे ।  


    
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए । ७५ हजारभन्दा बढी सदस्य रहेको सहकारीका ५०० शेयर सदस्यको लगानीमा किसान मार्ट सञ्चालन भएको पराजुलीको भनाइ छ । 

 

गैँडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाकासमेत नगरवासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले बताए । मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरूपमा प्राप्त गर्न सक्नेछन् ।


    
आगामी दशैँ, तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिकाभित्रका थप तीन स्थानमा मार्ट सञ्चालनको तयारी गरेको छ । दुई महिनाभित्र सहकारीले गैँडाकोटको वडानं  ८, १० र १२ मा मार्ट सञ्चालन गर्ने गरी काम थालेको किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीले बताए । 

 

किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको किसान मार्टले स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको छ । किसान मार्टको प्रवद्र्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले स्थानीयले उत्पादन गरेका वस्तु तथा सेवा किसान मार्टमार्फत बिक्रीवितरण गर्ने योजना रहेको जानकारी दिए । 


    
महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत रहेको उनको भनाइ छ । किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरूपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको अध्यक्ष चालिसेले बताए । 

 

स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उनको भनाइ छ । आगामी दुई वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरी उपभोक्तामाझ लैजानेसमेत योजना रहेको अध्यक्ष चालिसेले जानकारी दिए । किसान मार्टमा हाल ११ जनाले प्रत्यक्षरूपमा रोजगारीको अवसर पाएका छन् । 


    
कम मुनाफा र सेवा भावले सञ्चालन गरिएको किसान मार्टलाई राष्ट्रियस्तरमा लैजाने गरी सञ्चालन गरिएको बताइएको छ । तीनखम्बे अर्थनीतिको महत्वपूर्ण पाटोका रूपमा सहकारी संस्था रहेको भन्दै गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले ‘एक सहकारी एक उत्पादन’ मा जोडदिनुपर्ने बताए । सहकारी उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै उनले उत्पादनमैत्री लगानी हुनुनपर्ने आवश्यकता औल्याए । 


    
गैँडाकोट नगरपालिकाबाट जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा स्थानीय उत्पादन पु¥याउने किसान मार्टको तयारी छ । यहाँको उत्पादन प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकारले समन्वय गर्नुपर्नेमा किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीको भनाइ छ ।