close

शुक्लागण्डकीको एक्लेडाँडालाई पर्यटकीय गन्तव्य बनाइने 

शुक्लागण्डकीको एक्लेडाँडालाई पर्यटकीय गन्तव्य बनाइने 

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको हो । 

 

वडा कार्यालयले गौरवको योजनाका रूपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयको ५ लाखको बजेटमा गत वर्ष डिपिआर तयार गरिएको हो । एक्लेडाँडामा बुद्धको मूर्तिसहितका पूर्वाधार निर्माणका लागि माटो परीक्षण कार्य पनि सम्पन्न भएको छ । 

 

वडा कार्यालयले नयाँ गन्तव्यका रूपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताए । ‘सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौँ’, रेग्मीले भने । 

 

डिपिआरअनुसार पूर्वाधार निर्माणका लागि १२ करोड ५३ लाख ३४ हजार ४०१ रुपैयाँ बजेट आवश्यकपर्ने देखिएको छ । २ किलोमिटरको पदमार्ग र एक्लेडाँडामा गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ । यसैगरी पृथ्वीराजमार्गअन्तर्गत लेखनाथदेखि म्याग्देसम्मबाट देखिने गरेर स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गर्ने योजना छ । उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ । 

 

एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जीपलाइन निर्माण गर्ने योजनासमेत डिपिआरमा समावेश गरिएको छ । कोरोना कहर र निषेधाज्ञाका बीचमा नै यस ठाउँमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । पर्यटक बढ्न थालेपछि गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ५ लाखमा २५० मिटर पदमार्ग निर्माण गरिएको छ । ‘यो पदमार्गलाई दुई किलोमिटर बनाएर पवित्र तीर्थस्थल ढोरवाराही मन्दिरसँग जोड्ने लक्ष्य राखेका छौँ’, रेग्मीले भने ।

 

ठूलो बजेट आवश्यकपर्ने भएकाले यसका लागि संघ र प्रदेश सरकारसँग माग गरिने रेग्मीले बताए  । ‘नगरपालिकाको एक्लैको बजेटबाट मात्र यो सम्भव छैन, तीन तहकै सरकारको सहभागितामा यो काम पूरा गर्छौं’, उनले भने  । 

 

सामाजिक सञ्जालमार्फत् विभिन्न ठाउँको प्रचारप्रसार हुने क्रममा यस ठाउँले पनि चर्चा बटुलेको छ । शनिबार र चाडपर्वका बेलामा दैनिक २००÷३०० सम्म आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी टीका अधिकारीले जानकारी दिए ।

 

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा स्थानीय पनि खासै उक्लिदैनथे । यो गाईबाख्रा चराउने ठाउँ थियो । तर अहिले घुम्ने ठाउँ बनेको अधिकारी दंग छन् । ‘घाँस दाउरा गर्ने र गाईबाख्रा चराउने ठाउँ यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौँ’, उनले भने ।