close

मेलम्चीमा बगिरहेछ हेलम्बुको पहाड 

मेलम्चीमा बगिरहेछ हेलम्बुको पहाड 

Trulli
ADVERTISEMENT

हेलम्बु– चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरू ।  

 

शनिबार सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो । त्यसैले मेलम्ची खोलाका दायाँबायाँ किनारा चियाउन सकियो जहाँबाट बाढी र पहिरालो छियाछिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो । माथिबाट चियाउँदा लाग्थ्यो खोला किनारबाट सयौँ मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ । अहिले पनि अर्थात् बिना वर्षा नै पनि ठाउँठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ । जङ्गलबीचका सेतो कमेरे माटोका धर्साहरू त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन् । यसरी हेर्दा लाग्छ अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड । अनि प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा ।

 

कतिपय स्थानमा चोइटिएका पहाडबाट सुक्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिक्का थिए । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो । हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन ।

 

‘थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुवासी जोखिममै दिन काट्न बाध्य छन्’, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने । यसो बाहिरबाट हेर्दा नै मक्किएझैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रूप देखाउन सक्ने जोखिम अझै छ । त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन ।

 

माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिए पनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अवस्थामा फर्काउने प्रयास पनि भइरहेका थिए । मेलम्ची नगरपालिका–११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो । एक्जाभेटर लगाएपछि अहिले घरको भुइँतला देखिएको छ । मजदुर लगाएर घर खोतल्दै गरेकी उनलाई अझै पनि मेलम्चीमा बाढी आउने डर हटेको छैन ।

 

गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले त्यस्तै पीडा भोगिरहेको बस्ती हो हेलम्बु गाउँपालिका–२ को गणेशेबगर । नामको बगरलाई साँच्चिकै बगरमा परिणत भएपछि यहाँका ४५ परिवारका घर खेतमा खोला हिँडेको छ । केही घर खोलामा पल्टिएर बसेको छ । केही बगरभित्र पुरिएको छ केही घरको त निशाना नै नामेट छ । पीडित स्थानीयवासी भने त्यही भग्नावशेषमा हिँडेको खोलो टुलुटुलु हेरेर बसेका छन् । उनीहरूका पक्की घरबाट खोला हिँडेको छ तर उनीहरू भने केहीमाथि अस्थायी टहरामा बसिरहेका छन् ।