close

जुम्लाभरी मार्सी धान लहलह, कृषकलाई भित्र्याउन भ्याइनभ्याइ

जुम्लाभरी मार्सी धान लहलह, कृषकलाई भित्र्याउन भ्याइनभ्याइ

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाका किसानलाई कालीमार्सी धान भित्र्याउने चटारो सुरु भएको छ । जिल्लाका ८ वटै स्थानीय तहका खेतका फाँटमा उत्पादन हुने कालीमार्सी धान पाकेपछि भित्र्याउन सुरु भएको हो ।


विश्वको सबैभन्दा (२ हजार ८ सय ५० मिटर) उच्च स्थान जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरका खेतका फाँटमा कालीमार्सी फल्ने गर्दछ । छुमचौर ज्युलोमा गत वर्ष २ हजार वर्गमिटरमा धान रोपिएकामा यो वर्ष ५ हजार वर्गमिटरमा रोपिएको छ ।


देशका विभिन्न भागबाट मार्सीचामलको चामलको माग आउन थालेपछि उत्पादन क्षेत्रफल बढेको हो ।  कालीमार्सी धान संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारले धान खेती किसानलाई विभिन्न प्रकारका राहतका कार्यक्रम ल्याउनु आवश्यक छ ।


जुम्लाको सीमित स्थानमा मात्र उत्पादन हुने कालीमार्सीको स्वाद रोग र किरा प्रतिरोध हुने गरेको पोषणविद्हरू बताउँछन् । सोही कारण जुम्लीमार्सी धानको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमै चुलिएको छ । नेपालमा राणा शासनको समयसमेत केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौंसम्म पु¥याइने गरेको यहाँका बूढापाकाहरू बताउँछन् । 


करिब ७ सय वर्षअघि जुम्लीका इष्टदेवता चन्दननाथले भारतको कश्मीरबाट मार्सीधानको बिउ भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बिउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । 


जिल्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । कृषिविज्ञका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सीधानको भात निकै मीठो र स्वादिलो हुन्छ ।


मार्सी चामल खैरो रङको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग बढ्न थालेको स्थानीय किसान बताउँछन् ।  


मार्सीधानको विशेषता


मार्सी धान समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्छ । यो धानको खेती नेपालको उच्च हिमाली जिल्ला जुम्लामा मात्र हुने गरेको छ । यो धानको चामल रातो र भात पकाउँदा हल्का गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने गरेको धानबाली विशेषज्ञहरू बताउँछन् ।


स्थानीयमा मार्सी धान रोप्ने बेला युवाहरू घरमा भएनन् या आएनन् भने उनीहरूको मृत्यु भएसरह मान्ने पम्परागत रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए ।


जुम्लादेखि कालीमार्सी धान लगेर काठमाडौंमा व्यवसाय गर्नेहरू पनि बर्सेनि बढ्दै छन् ।