close

उठ्न थाल्यो बनेपाको फोहोर

उठ्न थाल्यो बनेपाको फोहोर

Trulli
ADVERTISEMENT

बनेपा– बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकासँग ठेक्का सम्झौता गरेको ग्रिनपिस इन्भारोमेन्टले अन्य स्थानमा व्यवस्थापन गर्ने गरी शनिबारदेखि फोहर उठाउन थालेको हो । 

 

‘नगरपालिकासँग सम्झौता गरिएको संस्थाले सिसडोलका अलावा अन्य ठाउँमा व्यवस्थापन गर्ने गरी काम थालेकाले अब बनेपा बजारको सबै फोहोर उठ्छ’,  नगरपालिका–७ का वडाध्यक्ष वर्ण शाक्यले भने, ‘शनिबारबाट फोहोर उठाउन थालिसकेको छ ।’ फोहर व्यवस्थापनको जिम्मा पाएको संस्थाले शनिबार बनेपाको चार दोबाटो चोकस्थित अरनिको राजमार्ग छेउमा थुपारेको फोहर उठाएको थियो ।

 

ग्रिापिस इन्भारोमेन्टका उत्तर सिं लामाले अब बनेपा नगरपालिकाभित्रका सबै फोहोर उठाउन थालिएको जानकारी दिए । बनेपाको फोहर यसअघि सिसडोलस्थित ल्याण्डफिल साइटमा लगेर फाल्ने गरेकोमा अब वैकल्पिक रुपमा काठमाडौँको मूलपानीमा रहेको नेपाल स्वच्छ वातावरण नामक संस्थासँग सात वर्षका लागि सम्झौता गरेर दिने सहमति भएपछि फोहोर उठाउन थालेको लामाले बताए । 

 

सिसोडलमा लान नसकेपनि मूलपानीमा रहेको फोहोर प्रशोधन कम्पनीले नियमित रुपमा फोहोर लिने भएपछि अब कुनै पनि समस्या नआउने उनको भनाइ छ । बनेपा नगरपालिकाले दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको योजना बनाएको छैन । पछिल्ला समयमा नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइटमा जाने बाटो अवरुद्ध हुँदा करिब डेढमहिना भन्दा बढी समयदेखि बनेपा बजारको फोहोर उठेको थिएन । फोहर नउँठाएदा बनेपा बजार क्षेत्र दुर्गन्धित बनेको थियो ।