close

८० स्थानीयलाई उद्यमी बनाउँदै सूर्यविनायक

८० स्थानीयलाई उद्यमी बनाउँदै सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्थानीयलाई साना उद्यमी बनाउने भएको छ । नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रमअन्तर्गत स्थानीयलाई उद्यमी बनाउन लागेको हो । 

 

नगरपालिकाले वडा नम्बर १० स्थित चित्तपोल वडा कार्यालयमा एक दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । नगर उपप्रमुख जुना बस्नेतका अनुसार सो वडाका ८० महिला, पिछडिएका समुदाय, दलित र जनजातिलाई कार्यक्रममा प्राथमिकतामा राखिएको छ । 


उद्यमी बन्न चाहनेका लागि सात दिने तालिम दिइनेछ । उपप्रमुख बस्नेतले तालिमबाट छनोट भएकालाई समूह बनाई तीन महिने थप तालिमसँगै उद्यमी बनाउने जानकारी दिइन् । 

 

वडाध्यक्ष शिवराम राउतका अनुसार त्यसका लागि नगरपालिकाबाट दुई जना सहजकर्ता खटाइनेछ । सहजकर्ताले घर–घरमा गई उद्यमी बन्न चाहनेको तथ्यांक संकलन गर्नेछन् । स्थानीयको माग र आवश्यकताको आधारमा सीप तालिम दिइने र आवश्यक सामग्रीसमेत पालिकामार्फत व्यवस्था गरिने उनले उल्लेख गरे ।  तालिममा सहभागी स्थानीय अनिवार्य उद्यमी बन्नुपर्ने सो कार्यक्रमको नीति रहेको उपप्रमुख बस्नेतले बताइन् ।