close

सुस्त गतिमा भेरी–बबई बहुउद्देश्यीय आयोजना : हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै 

सुस्त गतिमा भेरी–बबई बहुउद्देश्यीय आयोजना : हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै 

Trulli
ADVERTISEMENT

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाअन्तर्गतको दोस्रो चरणको काम सुस्त गतिमा भएको छ । आयोजनाको दोस्रो चरणअन्र्तगत हेडवक्र्स र पावरहाउस निर्माण भइरहेको हो ।


आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगंगास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत्गृह, टर्बाइन, विद्युतीय उपकरण र सब–स्टेसन निर्माणलगायत काम छन् ।


दुई वर्षदेखि जारी दोस्रो चरणको काम सक्नुपर्ने अवधि ४८ महिना हो । सम्झौताअनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात् २०८० भित्र यो काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तर, दुई वर्ष पुगिसक्दा पनि कामको प्रगति भने जम्मा ३० प्रतिशत छ । जबकि दुई वर्षमा ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो ।


चिनियाँ कम्पनीसहित रमण जेभीले दोस्रो चरण अर्थात् बाँध र पावर हाउसको काम आगामी २०८० भित्र सक्ने गरी जिम्मा लिएका छन् । आगामी दुई वर्षभित्र सक्नुपर्ने आयोजनाको समष्टिगत प्रगति हेर्दा पहिलो चरणको सुरुङ मार्गबाहेक अन्य कामको प्रगति निराशाजनक छ ।

 


दोस्रो चरणमा बाँध र पावर हाउस निर्माणका लागि निर्माण कम्पनीसँग १५ साउन २०७६ मा ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
चार वर्षका लागि भएको सम्झौताको बाँकी अवधि दुई वर्ष छ । आयोजना निर्माण हालसम्म ५० प्रतिशत अर्थात् २ वर्ष बितिसकेको छ भने भौतिक प्रगति भने ३० प्रतिशत मात्रै भएको छ ।

 

हालसम्म १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँको वित्तीय प्रगति रहेको छ । बाँकी दुई वर्षमा आयोजनाको ७० प्रतिशत काम सक्नुपर्ने दबाब छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अविनाशी सिग्देलका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत मात्रै छ ।


कोरोना संक्रमणले समेत सुरुआती चरणमा आयोजना निर्माण प्रभावित बनाएको र नदीको बहाव बढेपछि बाँध स्थलमा गर्नुपर्ने कतिपय काम रोकिएका छन् । ‘सुरुआती चरणमा महामारीले असर गरेकै थियो । मजदुर नै संक्रमित भएपछि केही ढिला भयो,’ उनले भने, ‘सरकारले राष्ट्रिय गौरवको आयोजना नरोक्नू भनेपछि स्थानीय प्रशासनसहित सरोकारवालाबाट सहकार्य र समन्वय हुँदा आयोजनामा आवश्यक सामग्री पुग्न थालेसँगै काम तीव्र पारिएको हो । अहिले त्यस्तो कुनै समस्या छैन ।’

 

झन्डै दुई सय बढी कामदार खटिँदै 
 
नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण भएको आयोजनाको ठेक्का सम्झौता रकम १० अर्ब ५६ करोड ९७ लाखमध्ये ९ अर्ब ९२ करोड ८४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।


अहिलेसम्म आयोजनाको १२ दशमलव २० किलोमिटर लामो र ४ दशमलव २० मिटर व्यास भएको सुरुङ निर्माण भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय नागरिक र जनप्रतिनिधिले शिलान्यास गर्दा भएका सहमति कार्यान्वयन नभए काम अगाडि बढ्न नदिने चेतावनी दिएका छन् ।


आयोजनाबाट बढी प्रभावित हुने भेरीगंगा, गुर्भाकोट र लेकबेँसी नगरपालिकाका जनप्रतिनिधिले आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादनका साथै भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने भए पनि प्रभावित क्षेत्रका बासिन्दाले यसबाट कुनै पनि लाभ लिन नसकेको बताए । 


‘स्रोत क्षेत्रका जनताका प्रतिनिधि भएकाले यहाँका नागरिकले उठाएका माग सम्बोधन गर्न जनसरोकार समिति गठन गरेका छौँ,’ गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले भने, ‘प्रधानमन्त्री र सरोकारवालालाई सुरुमा नागरिकका मागका विषयमा जानकारी गराउँछौँ । सम्बोधन नभए आयोजनाको काम अघि बढ्न दिँदैनौँ ।’

 

भेरीगंगा नगरपालिका प्रमुख भूपेन्द्रबहादुर चन्दले आयोजना उद्घाटनका क्रममा भएका प्रतिबद्धता र तत्कालीन सरकारले बनाएको योजनाअनुसार काम अघि बढाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।

 

भेरीको पानी बबईमा खसालेर विद्युत् निकाल्ने एवं बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिन सिँचाइ हुने भए पनि प्रभावित क्षेत्रका वासिन्दाले यो आयोजनाबाट के लाभ लिने ?’ नगरप्रमुख चन्दले भने, ‘माग पूरा नभए आयोजनाको काम रोक्नुपर्ने बाध्यता हुन्छ ।’


लेकबेँसी नगरपालिका प्रमुख गगनसिंह सुनारले राष्ट्रिय गौरवको आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले पनि गौरव गर्ने खाले वातावरण बन्नुपर्ने धारणा व्यक्त गरे ।
‘राष्ट्रिय गौरवको योजना भन्ने तर स्थानीय पीडित भइरहने भएपछि राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘स्थानीयका माग, आवश्यकता र विगतका प्रतिबद्धताअनुसार आयोजना अघि बढ्नुपर्छ ।’