काठको टहरामै बितेको जिन्दगी ! 


  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाकी बिजमाया जैशी । वषौंंदेखि थातबासको नाममा काठको टहराको आश्रयलाई महल ठानेर बसेकी छन् । जैशीका श्रीमान् बेखबर भएको ११ वर्ष बितिसक्यो । १२ वर्षमा खोला फर्किन्छ भन्ने आहानै छ । जैशी पनि श्रीमान्को अत्तोपत्तो आइलाग्छ कि भनेर कुरिबसेकी छन् ।

 

एक कोठे काठको टहरो । त्यही पनि पानी चुहिने । गाउँको बीचमा । वरिपरि सबैका केही जस्तापाताले छाएका र केही माटोले उधिनेका घर छन् । यहाँको मुकाम खलंगादेखि पूर्वी भेग गुठीचौर गाउँपालिका वडा नम्बर ५ फोईगाउँस्थित काठको टहरोमा बस्छिन्, जैशी । त्यही टहरोभित्र पुराना ओड्ने, ओछ्याउने कपडा । त्यसैमा दैनिकी गुडेको छ, ३९ वर्षीया जैशीको । उनका एक छोरा र दुई छोरी छन् ।

 

घरमा शिक्षादीक्षा दिने आर्थिक अवस्था नभएपछि जेठी छोरी उमेर नपुग्दै १८ वर्षमै विवाहबन्धमा बाँधिइन् । अहिले दुई बालबच्चा साथमै छन् ।  छोराछोरीको लालनपालन, शिक्षा स्वास्थ्योपचार गर्ने जिम्मेवारी जैशीको काँधमा भएकाले काम नगरी रत्तिभर खाना, नाना जुट्दैन । 


त्यसैले माइतीले दिएको सानो जग्गामा काठको टहरो बनाएर बसेकी छन् । गत वर्ष पुसको हिमपातले जीर्ण घर भत्किएपछि उनको टहरोमा बास भएको हो । 
जैशीसँग सम्पत्तिको नाममा एक हल गोरुले जोतिभ्याइसक्ने एक रोपनी खेत मात्रै छ । 


२०६७ कात्तिक दोस्रो साता व्यापारका लागि मालसामान लिने भनेर नेपालगञ्ज गएका पति ४३ वर्षीय धर्मदत्त जैशी फर्केर नआएपछि दयनीय अवस्था भएको उनको विलौना छन् । ‘घरको उत्पादनले दुई महिना पनि खान पुग्दैन’, उनले भनिन्, ‘ज्याला मजदुरी गरेरै गुजारा चलाउने गरेकी छु । माइती पनि हुनेखाने छैनन् ।’ 

 

नजिकैको सामुदायिक विद्यालयमा छोराछोरी पढाइरहेकी उनले ज्याला मजदुरी गरेरै तिनको कापी, कलम र लुगाफाटो गर्ने गरेको सुनाइन् । ‘मीठोमसिनो खाने, राम्रा कपडा लगाउने हाम्रा लागि सपनै भयो । दुई छाक गास र एक सरो कपडाका लागि संघर्ष गर्दै आइरहेकी छु ’, जैशी दुःखी सुनिइन् । बालापनमा बुबा र किशोरावस्थामा पति फर्केर नआएपछि जोशीले भाग्यलाई सराप्छिन् । 


‘गाउँमा केही विकास निर्माण योजनामा ज्याला, मजदुरी गरेको पैसा पाएकी छैन । एक महिना काम गरेको पैसा नदिएर ठेकेदार भागेर गए’, उनले भनिन् ।
ठेकेदार श्रमिकको ज्याला, मजदुरी ठगेर भागेपछि नजिकैको प्रहरी चौकीमा निवदेन दिए पनि सुनुवाइ नभएको जैशीको गुनासो छ ।


‘अघिल्लो पुसमा परेको पानीले घर भत्किएपछि गाउँपालिकाले १५ हजार रुपैयाँ राहत दिएको थियो । त्यसैबेला छोराको खुट्टा भाँचिएपछि त्यो रकम उपचारमै खर्च भयो,’ जैशीले भनिन् ।


पालिकाले सानाठूला गरी १० बाख्रा पनि दिएकामा साना बालबच्चा स्कुल पढ्ने हुँदा अर्काको भरमा वन छाड्दा पाटनको विष खाएर मरेको उनले बताइन् ।
सँगै जुनी बिताउने श्रीमान् ११ वर्षसम्म फर्केर नआएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला र इन्सेकमा १७ भदौ २०७८ मा निवेदन दिएको उनको भनाइ छ ।


प्रहरी निरीक्षक युवन चौधरीले जैशीका श्रीमान्को खोजीका नेपालभरका सबै प्रहरी कार्यालयमा हुलियासहित पत्राचार गरिएको जानकारी दिए । गरिबीका कारण सानैमा बालिकाको विवाह १८ वर्ष नपुग्दै गरिदिँदा सामाजिक, आर्थिक रूपमा समस्या निम्तिने उनको बुझाइ छ ।


सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षाजस्ता कारण प्रमुख रूपमा देखिएको सामाजिक अभियन्ता जयलक्ष्मी चौलागाईं सुनाउँछिन् । 


गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गत वर्ष पुसमा जैशीको घर भत्केपछि राहतस्वरूप १५ हजार रुपैयाँ उपलब्ध गराइएको बताए । ‘पालिका तहबाट गर्ने सहयोग गरेका छौँ’, उनले भने, ‘जीविकोपार्जनका लागि १० वटा बाख्रा उपलब्ध गराएका छौँ । दाता जुटेर उनको बस्ने बास बनाइदिए राहत हुने थियो ।’