close

दशरथचन्दका टोलटोलमै विद्यालय, पाटनका सबै बन्द

दशरथचन्दका टोलटोलमै विद्यालय, पाटनका सबै बन्द

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको दशरथ चन्द नगरपालिकामा टोलटोलमा शिक्षक खटाएर पठनपाठन सुरु गरिएको छ । नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूलाई टोलटोलमा शिक्षक खटाएर पठनपाठन कार्य अघि बढाउन निर्देशन गरिएको हो ।
 
कोरोना भाइरसको जोखिम कायमै रहेकाले टोलटोलमै गएर पठनपाठनको व्यवस्था मिलाएको दशरथ चन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए ।

दशरथ चन्द नगरपालिकाभित्र ५२ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय छन् ।
   
नगरमा टोलटोलमा शिक्षक खटाएर पठनपाठन कार्य अघि बढाएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले जानकारी दिए । उनले भने, ‘लामो समयदेखि पठनपाठन अवरुद्ध भएकाले विद्यालयको सेवा क्षेत्रभित्र रहेका आठवटा टोलमा शिक्षक खटाएर पठनपाठन गर्न थालेका छौँ । नगर शिक्षा समितिको निर्णयअनुसार टोलटोलमा शिक्षक खटाएर अध्यापनको काम सुरु गरेका हौँ ।’
   
दशरथ चन्द नगरपालिकाले यसअघि रेडियोमार्फत समेत कक्षा संचालन गरेको थियो । कोरोनाका कारण जिल्लाका विभिन्न स्थानीय तहहरूले वैकल्पिक शिक्षणका प्रक्रिया अपनाएर पठनपाठन कार्य अघि बढाउन थालेका छन् ।

यसैगरी बैतडीको दोगडाकेदारका केही युवा क्लबमार्फत समेत टोल शिक्षा संचालन गरिएको पब्लिक पावर अभियानका अभियन्ता भोजराज जोसीले बताए । उनले भने, ‘एकै टोलका विद्यार्थीहरूलाई हामीले समूहमा राखेर पढाउने गरेका थियौँ तर अहिले केही ठाउँमा विद्यालयसमेत संचालन भइसकेका छन् ।’

यस समयमा दार्चुलाको लेकमका युवा क्लवहरूले पनि टोल शिक्षा प्रदान गरेको उनले बताए ।

पाटनका विद्यालय बन्द
 
बैतडीको पाटन नगरपालिकाका विद्यालयहरू तिहारसम्मका लागि बन्द गरिएका छन् । नेपालका कोरोनाको उच्च जोखिममा रहेका क्षेत्रबाट फर्केका नागरिकमा संक्रमण देखिन थालेकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले नगर कार्यपालिकाको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
   
भारतबाट फर्केकाहरू मात्र क्वारेन्टाइनमा बसिरहेका र नेपालका जोखिमयुक्त ठाउँबाट फर्केकाहरू सिधै घर जान थालेकाले विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

उनले भने, ‘पाटन नगरपालिकाका काठमाडौंबाट फर्केका दुई जनामा कोरोना पुष्टि भएकाले उनीहरूका घरपरिवारका बालबालिकाहरूबाट विद्यालयमा पनि संक्रमणको जोखिम बढ्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।’
 
केही दिनअघिदेखि मात्र पाटन नगरपालिकामा विद्यालय संचालनमा आएका थिए । यस्तै, नगरपालिकाले नगर क्षेत्रमा जिल्लाबाहिर तथा विदेशबाट फर्केका हरेक नागरिकको पीसीआर परीक्षण गर्ने निर्णयसमेत गरेको छ । जिल्लाबाहिरबाट फर्केका नागरिकहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न लगाउने र उनीहरूको पीसीआर परीक्षण गर्ने निर्णय भएको छ ।