close

तयार भयो बञ्चरे डाँडा : फोहोर व्यवस्थापनबारे अझै अन्योल

महानगर भन्छ : औपचारिक जानकारी आएको छैन

तयार भयो बञ्चरे डाँडा : फोहोर व्यवस्थापनबारे अझै अन्योल

महानगर भन्छ : औपचारिक जानकारी आएको छैन

Trulli
ADVERTISEMENT

काठमाडौं– दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ ।  शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई पहिलो सेल निर्माण सकिएको जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न सक्ने बताएको छ । 


    
मन्त्रालयसँग सम्बन्ध रहेको उक्त सेल निर्माणको काम सकिएको र अन्य काममा आफ्नो जिम्मेवारी नरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए । 

 

कामपासँग समन्वय गरी फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर बञ्चरेडाँडा पुग्ने बताइएको छ । तत्काल फोहर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ ।  

 


औपचारिक जानकारी आएको छैन : महानगर

 

कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरुलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्नसक्नेबारे औपचारिक जानकारी नआएको बताउँछन् ।


 
बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनःफोहोर व्यवस्थापन गर्न मुस्किल परेकाले कमपासहित १८ स्थानीय तहको फोहोर व्यवस्थापनमा थप समस्या चुलिएको प्रमुख श्रेष्ठले बताए ।  

 
   
समन्वयविना फोहोरको गाडी बञ्चरेडाँडा जाँदा स्थानीयले अवरोध गर्ने भन्दै स्थानीय र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरुपमा फोहोर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ ।  

 

गत बुधबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर उठ्न थालेकोमा सबै स्थानको फोहोर सझैसम्म व्यवस्थापन हुन सकेको छैन । फोहर उठ्न थालेको छ दिन हुँदासम्म काठमाडौँका मुख्यमुख्य चोक सफा हुन सकेको छैन । कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहोरको डङ्गुर उस्तै छ । 

 

नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । 

 

सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहोर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आइएको छ । 

 

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।  

 

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण भएको हो । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ ।