close

धामी–झाँक्रीलाई प्रोत्साहन गर्न नगरको बजेट !

धामी–झाँक्रीलाई प्रोत्साहन गर्न नगरको बजेट !

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले धामी–झाँक्रीको प्रोत्साहनमा बजेट विनियोजन गरेको छ ।

 

धामी–झाँक्रीको सहायतामा हालसम्म हरेक जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको दाबी गर्दै प्रोत्साहनमा १० लाख बजेट विनियोजन गरेको जनाएको छ ।


हरेक जातजातिको मौलिक धर्म, परम्परा, संस्कृति जगेर्नामा धामी–झाँक्रीको महत्वपूर्ण योगदान रहेकाले प्रोत्साहनस्वरुप बजेट व्यवस्था गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।


आर्थिक वर्ष ०७७/७८ का लागि ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट बजेट पारित गरेको नगरपालिकाले ढोल ढ्यांग्रो भएका धामी–झाँक्रीलाई मात्र प्रोत्साहनस्वरुप सुविधा उपलब्ध गराउन लागेको हो ।


धामी–झाँक्री प्रोत्साहनमा गत वर्ष १० लाख विनियोजन गरेको नगरपालिकाले चालू आर्थिक वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । गत वर्ष बजेट विनियोजन गरिए पनि कोभिड–१९ का कारण धामी–झाँक्री प्रोत्साहनका कार्यक्रम गर्न नसकिएको नगरप्रमुख राई सुनाउँछन् ।


‘कुलपितृ गर्दा होस् या जन्मदेखि मृत्युपर्यन्तका संस्कार, धामी–झाँक्री चाहिन्छ । उनीहरू नभए यी कुनै पनि काम सम्भव हुन्न,’ नगरप्रमुख राईको दाबी छ, ‘संस्कार–संस्कृतिका हिसाबले गहना भए पनि अहिले धामी–झाँक्री ।  संस्कार, संस्कृति संरक्षण गर्ने हो भने धामी–झाँक्रीलाई प्रोत्साहन दिनुपर्छ भन्ने धारणा हो ।’


११ वडा रहेको नगरपालिकामा ढोल ढ्यांग्रोसहित काम गर्दै आएका धामी–झाँक्रीको तथ्यांक संकलन गरेर प्रोत्साहनका कार्यक्रम अघि बढाइने नगरपालिकाले बताएको छ । छानिएका धामी–झाँक्रीलाई झारफुकमा आउने बिरामीलाई स्वास्थ्य संस्थासम्म पठाउनका लागिसमेत उत्प्रेरित गरिने नगरप्रमुख राई बताउँछन् ।


धामी–झाँक्रीले गाउने र भन्ने मुन्दुममा हजारौं वर्ष अगाडिको ज्ञान पाइने भएकाले प्रोत्साहन बजेटको व्यवस्था नमुना कदम भएको मुन्धुम अध्येता भोगीराज चाम्लिङले बताए ।


‘धामी–झाँक्रीले गाउने मुन्धुममा इतिहासका कुरा, प्रागऐतिहासिक कुरा, दर्शनदेखि वनस्पति जीवविज्ञानको कुरा आउँछ । जडीबुटीबाट उपचार गर्ने पद्धतिको कुरा आउँछ’, अध्येता चाम्लिङले भने, ‘उनीहरू हजारौं वर्ष पुराना ज्ञानका स्रोत हुन् । उनीहरूको संरक्षण हुँदा समग्र समुदायकै हित हुन्छ ।’


आधुनिक बुद्धिजीवीलाई समेटेर प्रतिष्ठान बनाउँदा पुरातन बुद्धिजीवी कहलिएका धामी–झाँक्रीको विषयमा सोच्नु सकरात्मक भएको उनको बुझाइ छ । उनले सिक्किमा धामी–झाँक्रीको उत्प्रेरणामा प्रोत्साहनका कार्यक्रम भइरहेको उल्लेख गरे ।