close

नयाँ दल रोज्ने जनप्रतिनिधिको तथ्यांक एक सातापछि मात्रै

नयाँ दल रोज्ने जनप्रतिनिधिको तथ्यांक एक सातापछि मात्रै

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले २० प्रतिशत मात्रै पुर्‍याएर दल विभाजन गर्ने अध्यादेश ल्याएपछि चोइटिएका नेकपा एमाले र जनता समाजवादी पार्टीका असन्तुष्टलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय मंगलबार सकिँदै छ ।

 

गत ९ भदौमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी विभक्त भएर बनेको लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएसँगै जनप्रतिनिधिलाई दल रोज्न मंगलबारसम्मको समयसीमा तोकिएको छ । 

 

निर्वाचन आयोगका अनुसार प्रदेशको नतिजा करिब–करिब आइसके पनि स्थानीय तहका जनप्रतिनिधिमध्ये नयाँ दल रोज्ने संख्या आउन भने केही समय लाग्ने देखिएको छ ।  ७ सय ५३ स्थानीय तहका सबै जनप्रतिनिधिको संख्या धेरै भएकाले केही समय लाग्ने भएको हो । 

 

निर्वाचन आयोगका सह–प्रवक्ता कोमल धमलाले अन्तिम तथ्यांक आउन एक साता लाग्न सक्ने बताए । ‘दल रोज्न दिएको समय मंगलबार सकिँदै छ,’ उनले भने, ‘आज बेलुकाको समय सकिएपछि जिल्ला निर्वाचन कार्यालयले तथ्याङ्क हामीलाई पठाउने हो । सबै जिल्लाको तथ्यांक आइपुग्न एक साता लाग्छ ।’


 

पार्टी विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको नेतृत्व माधव नेपालले गरेका छन् भने लोकतान्त्रिक समाजवादीको नेतृत्व महन्थ ठाकुरले गरेका छन् ।

 

दल रोज्ने अन्तिम दिन मंगलबार पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने क्रम जारी छ । कति जनप्रतिनिधि आफूहरूतिर आए भन्ने भन्ने कुराको यकिन भइनसकेको नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद विरोध खतिवडाले जानकारी दिए । 

 

निर्वाचन कार्यलयले तथ्यांक नदिएसम्म ठ्याक्कै भन्न नसकिने उनले बताए । ‘स्थानीय तहका कति जनप्रनिधिले दल रोजिसक्नुभयो भन्ने तथ्यांक आइसकेको छैन,’ उनले भने, ‘निर्वाचन आयोगले साता दिन भनेको छ । तर, अनुमानअनुसार हामीले सोचेभन्दा धेरै जनप्रतिनिधि एमाले छाडेर हामीतिर आउनुभएको छ ।’