close

भीमदत्तमा घरबाटै कर तिर्न सकिने

भीमदत्तमा घरबाटै कर तिर्न सकिने

Trulli
ADVERTISEMENT

महेन्द्रनगर– नगरपालिकाको सेवा प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता ‘पोर्टल’ तयार गरेको छ । नगरपालिकाले करदाता पोर्टल सञ्चालनमा ल्याएको हो ।  नगरपालिकाका सूचना अधिकृत सुरेशप्रसाद भट्टले अनलाइनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरी पोर्टल सञ्चालन गरिएको जानकारी दिए ।

 

‘भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन्’, सूचना अधिकृत भट्टले भने, ‘साथै करदाताले व्यक्तिगत, सम्पत्ति, कर तिर्नुपर्ने तथा कर तिरेकोलगायतको विवरण कर अनलाइन पोर्टलमा हेर्नसमेत सक्ने सुविधा थपिएको छ ।’

 

सफ्टवेयरमा करदाताको रुपमा दर्ता भएपछि निजको आधिकारिक आठ अंकको करदाता संकेत  नम्बर प्राप्त हुन्छ ।  त्यसपछि कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजर र पासवर्ड राखी प्रयोगकर्ता दर्ता गरी आफ्नो विवरण हेर्नुका साथै कर भुक्तानी गर्नसक्ने नगरपालिकाले जनाएको छ । अनलाइन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

 

त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्षमा र २३ करोड ३१ लाख ७२ हजार ७०० आन्तरिक आय (राजस्व) संकलन गरेको छ । नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि यहाँ राजस्व संकलनको दायरा बढ्दै गइरहेको छ । नगरपालिकाले पछिल्लो समय वडा कार्यालय भवन धमाधम निर्माण गरेपछि सेवाग्राहीलाई सहज भएको छ ।  नगरपालिकाले जैविक, शुक्लाफाँटा पर्यटन मार्गलगायतका आफ्नै लगानीमा सडक निर्माण गरेपछि ग्रामीण स्तरसम्म यसको सञ्जाल विस्तार गरेको छ ।