close

राजनीतिक उतारचढावले विश्वासमा कमी देखिन थाल्यो

राजनीतिक उतारचढावले विश्वासमा कमी देखिन थाल्यो

Trulli
ADVERTISEMENT

भीम न्यौपाने
नगरप्रमुख, पनौती नगरपालिका, काभ्रे

कार्यकालको अन्तिम वर्ष आइपुग्दा नगरपालिकाले सुरु गरेका योजना सम्पन्न गर्ने हतारो र नागरिकसँग गरिएका प्रतिबद्धता कुन अवस्थामा पुगे ? प्रदेश र संघीय सरकारसँग भइरहेका समन्यव, महालेखाले हालै जारी गरेको लेखापरीक्षण प्रतिवेदन आदिमा केन्द्रित रहेर न्यौपानेसँग गरिएको कुराकानी :

 

कार्यकालको अन्तिम वर्ष नगरमा सुरु गरिएका विकास निर्माणका काम सक्ने कत्तिको हतारो छ ? 

 

नगरपालिकामा गत आर्थिक वर्षका विकास निर्माणका काम ८१ प्रतिशत सम्पन्न भएका छन् । बाँकी रहेका केही योजना यो आर्थिक वर्षमा तानेका छौँ । दुई कारणले समयमा सम्पन्न गर्न सकेनौँ । कोरोना र वर्षाका कारण यो वर्ष काममा ढिलाइ हुन पुग्यो । 

 

सामाजिक सुरक्षासम्बन्धी नगर पालिकाले के–कस्ता काम गरेको छ ? 

 

सामाजिक सुरक्षामा हामीले सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकलाई दिएका छौँ । २ सय ३९ जनालाई विशेष सामाजिक सुरक्षा भत्ता दिएका छौँ । त्यसमा ३५ वर्षमाथिका विवाह नगरी बसेकालाई, सम्बन्ध विच्छेद गरेका र श्रीमान् बेपत्ता भएकालाई भत्ता दिइरहेका छौँ । १२ वर्षभन्दा माथि बेपत्ता भएकालाई कार्ड बनाएर भत्ता दिँदै आएका छौँ । यसबाहेक मनोरोगीका लागि तीन वटा स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरेर हरेक महिना शिविर चलाएका छौँ । औषधीको व्यवस्था गरेका छौँ । अपांगता भएका व्यक्तिको कार्ड बनाउने काम गरेका छौँ । आउन नसक्नेको कार्ड घरमै गएर बनाइदिएका छौँ । एम्बुलेन्स पठाएर ल्याएर भए पनि हामीले कार्ड बनाइदिएका छौँ । 

 

यो चार वर्षको अनुभव कस्तो रह्यो ? काम गर्दा आइपरेका कठिनाइ के–के हुन् ? 


अनगन्ती कठिनाइ आए । राज्य, देश भनेकै यही हो । सकरात्मक सोचमा हामी कमजोर छौँ । तीन तहको सरकार बनेको छ । समन्वय केही हदसम्म देखिन्छ तर थिति बसाउने कुरामा समस्या छ । योजनालाई बेलामा सम्झौता गर्ने र सकाउनेतर्फ हामी लागेका छौँ । ठूला चुनौती छैनन् । विश्वासको कमी भए पनि यी संकटलाई जितेर अघि बढ्छौँ । 

 

नगरपालिकाले गरेका प्रयासमा संघ तथा प्रदेशबाट कत्तिको सहयोग र समन्वय भएको महसुस गर्नुभयो ? 

 

संघ र प्रदेशसँग हाम्रो समन्वय राम्रो छ । कार्यान्वयको चरणमा नगरपालिकाले अनुगमनको भूमिका गरिरहेको छ । त्यस्तो असमझदारी छैन । 

 

महालेखा परीक्षकको कार्यालयले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा पनौती नगरपालिकाको बेरुजुको अवस्था कस्तो छ ? 

 

हाम्रो नगरपालिकामा ३ प्रतिशत जति बेरुजु छ । डकुमेन्ट नपुगेर पनि बेरुजु देखिएको हो । खानी उत्खननको ठेक्का लागेको छ । त्यसको गत आर्थिक वर्षको साउनमा प्रदेश सरकारले कानुन बनाएर ४० प्रतिशत तिर्नुपर्ने नियम बनायो । तर, हामीले अगाडि नै रकम तिर्न सकेनौँ । रकम नतिर्दा समस्या देखिएको हो । त्यो समाधान हुन्छ । बेरुजु बढ्नुमा तीन कुरा देख्छु । प्रदेश सरकारले २०७७ मा कानुन बनाउने, असारको पहिलो सातामा नगरसभा गर्नुपर्ने अवस्था हो । नियतमा खोट छैन । कागज नपुग्दा बेरुजु देखिएजस्तो मात्र लाग्छ ।