close

भैंसीपालनमा लागे रुकुम पूर्वका तन्नेरी

भैंसीपालनमा लागे रुकुम पूर्वका तन्नेरी

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ कोलका युवा सामूहिक भैँसीपालनमा लागेर मनग्ये आम्दानी लिन थालेका छन् । विगत वर्षमा यो पालिकामा गाईभैँसीपालन गरी स्थानीयले दूध, दही, घ्यू पर्याप्त उत्पादन गरी बिक्री गरेर आम्दानी लिँदै आएका थिए ।  तर, पछिल्लो समय कृषि पेसा अपनाउनुको साटो सहरबजार र मुग्लान पस्ने युवाको लर्को लागिरहेको छ । सोही कारण कतिपय स्थानमा गाईभैँसी पाल्नेको संख्य न्यून छ । 


कोलका युवाले सामूहिक भैँसीपालन गरी प्रेरणाको स्रोत बनेका छन् । गाउँमा भैँसीपालन हराएका बेला युवाले यो पेसालाई आम्दानीको स्रोत बनाउन थालेका हुन् ।
भैँसीपालनबाटै आम्दानी बढाउन सामूहिक भैँसीपालनमा लागेको पुथा हिमालयन अर्गानिक कृषि फार्मका अध्यक्ष सुजन पुन मगरले बताए । 

 

गाउँमा युवा खेतीपाती गर्न छाडेर विदेश पलायन हुनु र घरगाउँमै बसेकाले पशुपालन छाडेपछि अहिले गाउँमा दूध, दही, घ्यू र मही अभाव भइरहेको उनले सुनाए ।

 

युवाले सात वटा धुना भैँसीबाट सामूहिक कृषि कर्म गरिरहेका छन् । गत असारबाट कोलस्थित छमारीमा कागती खेतीसँगै मल र दूधका लागि भैँसीपालन सुरु गरिएको अध्यक्ष पुन मगरले बताए ।

 

सय रोपनी जग्गा भाडामा लिएर कृषि कर्म 


छमारीमा १०० रोपनी जग्गा वार्षिक २ लाख रुपैयाँ भाडामा लिई फार्ममार्फत १५ युवाले सामूहिक कृषि उत्पादन गरिरहेका छन् । ७ वटा धुना भैँसीले दैनिक १५ देखि २० लिटरसम्म दूध दिने गरेका छन् । उक्त दूध कोल गाउँमै खपत भइरहेको छ । 


प्रतिलिटर १०० रुपैयाँका दरमा दूध बिक्री हुने गरेको छ । गाउँमा भैँसीपालन हराएपछि मागअनुसार दूध आपूर्ति गर्न नसकिएको पुनको भनाइ छ । भैँसी र कागती खेती हेरालुका लागि चार जनाले रोजगारीसमेत पाएका छन् । उनीहरूलाई प्रतिएक जना मासिक साढे ७ देखि १७ हजार रुपैयाँसम्मको पारिश्रमिक दिइने गरेको छ ।


भर्खरै कृषि उत्पादन सुरु भएकाले हालको आयस्रोत दूध बिक्री मात्र रहेको युवा बताउँछन् । दूध बिक्रीबाट मासिक ४५ हजार रुपैयाँ हाराहारी आम्दानी भइरहेको उनीहरूले सुनाए । 

 

अब बंगुर र मौरीपालन गर्ने उनीहरूको योजना छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको अनुदान १२ लाख र एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयबाट ३० लाख रुपैयाँ बराबरको अनुदान आउने अध्यक्ष पुनले जानकारी दिए । 

 

१० वर्षपछि विदेशबाट फर्केर गाउँमै कृषि कर्म

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ७ गुनामका एक युवा गाउँमै बंगुर र कुखुरापालन व्यवसायमा लागेका छन् । भूमे वडा नम्बर ७ गुनामका रामचन्द्र बुढा मगर गाउँकै बाघतारेमा बंगुर र कुखुरापालनमा लागेका हुन् । 

 

१० वर्षसम्म साउदीमा पसिना बगाएका बुढाले अब आफ्नै गाउँघरमा परिश्रम गर्ने सोचसहित बंगुर र कुखुरापालन थालेको बताए । जेठबाट बंगुर तथा गिरिराज कुखुरापालनमा होमिएको उनले सुनाए । खोर तथा अन्य व्यवस्थापनमा ५ लाख रुपैयाँ लगानीबाट बंगुर तथागिरिराज कुखुरा व्यवसाय सुरु गरेको उनको भनाइ छ । 

 

बुढाले हाल गिरिराज कुखुरा र बंगुर एक महिनामा ३/३ सय गोटा हाराहारी पालिरहेका छन् । खरिद गर्दाको रकम छाडेर हाल मासिक ७५ हजार रुपैयाँ बराबरको बचत भइरहेको बुढाले बताए ।


गुनाम गाउँ छिमेकी रोल्पाको थबाङसँग सीमा पर्ने भएकाले बंगुर र कुखुरापालनमा लागेपछि उत्पादन रोल्पा र रुकुम पूर्वमै सहज बिक्री भइरहेको बुढाले सुनाए ।