close

पर्यटन क्षेत्र लयमा फर्किन पाँच वर्ष लाग्ने

पर्यटनमा कोरोना असर

पर्यटन क्षेत्र लयमा फर्किन पाँच वर्ष लाग्ने

पर्यटनमा कोरोना असर

Trulli
ADVERTISEMENT

कोरोना संक्रमणका कारण थलिएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार-पाँच वर्ष लाग्ने सरोकारवालाहरूले बताएका छन् । 

कोरोना संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहसअन्र्तगत पर्यटनको संभावना विषयक भिडियो कन्फ्रेन्समा सहभागीहरूले यस्तो बताएका हुन् । 

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको उनको भनाइ छ ।

‘अब मास टुरिजमको एरा गयो,’ पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ, जहाँ कुनै विशेष रुचिको आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिन्छ ।’ 

उनले पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ । त्यसैले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ । 

नेपालको पर्यटन क्षेत्रले पर्यटकका लागि के–के दिन सक्छन् भन्ने निश्चित पनि गर्नुपर्ने उनको भनाइ थियो । पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भए पनि यसपालिको समस्या भने केही फरक रहेकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने उनको तर्क थियो ।

व्यवसाय खुलेपछि प्रसार–प्रचार गर्ने बेला पनि यही भएको र सोही आधारमा यति मात्रै पर्यटक ल्याउँछौँ भनेर बजार व्यवस्थापनमा जान सकिने उनको धारणा थियो ।

कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उनले बताए । सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । 

त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रबाट गरेको लगानी जोखिममा परेको श्रेष्ठले जानकारी दिए ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि उपयुक्त प्याकेज ल्याए पनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । 

पर्यटन वर्ष–२०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन  चार-पाँच वर्ष लाग्ने बताए । ‘२०२४÷२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न,’ संयोजक शाक्यले भने ।

पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वय आवश्यक पर्नेमा शाक्यले जोड दिए । पर्यटक भित्र्याउन विमानस्थलको सम्पुर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको संयोजक शाक्यको भनाइ छ ।