close

स्थानीय तहमा कमजोर देखियो नेकपा एकीकृत समाजवादी 

स्थानीय तहमा कमजोर देखियो नेकपा एकीकृत समाजवादी 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमाले विभाजनको असर स्थानीय सरकारमा पनि परेको छ । निर्वाचन आयोगले नयाँ दलमा सनाखत गर्न तोकेको समय मंगलबारसम्ममा स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मले नयाँ पार्टी रोजेका छन् । स्थानीय तहमा नेकपा एकीकृत समाजवादीको प्रभाव कम देखिएको छ । 


प्रदेश १ 


प्रदेश १ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समिति (जिसस) र स्थानीय तहका गरी १८२ जनाले एकीकृत समाजवादी रोजेका छन् । जसमा जिसस प्रमुख २, उपप्रमुख ३ र सदस्य ५ जना छन् । सोलुखुम्बुका कसैले पनि नयाँ पार्टी रोजेका छैनन् । प्रदेशका १३७ स्थानीय तहमध्ये ९२ स्थानीय तहमा एमालेबाट निर्वाचित ६७ प्रमुख तथा अध्यक्षमध्ये ५ जनाले मात्रै एकीकृत समाजवादी रोजेका छन् । यसैगरी ८१ उपप्रमुख तथा उपाध्यक्षमध्ये ५ र वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्य गरी १५५ जनाले एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन् । 


प्रदेश २ 


प्रदेश २ मा ८ सय ६६ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । महोत्तरीमा सबैभन्दा बढी २ सय ५८ जना, सर्लाहीमा १ सय ३७, रौतहटमा ८८, बारामा १ सय ३८, पर्सामा २८, सप्तरीमा ९६, सिरहामा १२ र धनुषाका १ सय ९ जनाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । एमालेबाट एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिको संख्या आइसकेको छैन । 


वाग्मती प्रदेश 


उपत्यकाबाहेक १० जिल्लाका २ सय ४१ जनप्रतिनिधिले एमाले छाडेका छन् । सबैभन्दा धेरै धादिङका ८५ जनाले एमाले छाडेका छन् । काभ्रेमा ५६, मकवानपुरमा ३९, चितवनमा ३६, नुवाकोटमा ९, दोलखामा ७, रामेछापमा ५, सिन्धुपाल्चोक र सिन्धुलिमा २÷२ जनाले एकीकृत समाजवादी रोजेका छन् । रसुवामा एमालेबाट निर्वाचित कसैले पनि पार्टी फेरेका छैनन् । 


गण्डकी प्रदेश 


गण्डकी प्रदेशमा एमाले फुटको असर कम छ । तनहुँबाट ५ वडाअध्यक्षसहित १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । स्याङ्जामा आँधीखोला गाउँपालिकाकी उपाध्यक्षसतिह ७ जनाले एमाले छाडेका छन् । पूर्वी नवलपरासी, लमजुङ र मनाङका जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेनन् । कास्कीका २ सय ८२ एमालेका जनप्रतिनिधिमध्ये ४ जनाले मात्रै पार्टी छोडेका छन् । गोरखामा ३, तनहुँमा १३, म्याग्दीमा ३ र मुस्ताङमा १ जना मात्रै नयाँ पार्टीमा लागेका छन् । 


लुम्बिनी प्रदेश 


लुम्बिनीका १ सय ९ स्थानीय तहमा २ उपप्रमुख, २ उपाध्यक्ष, ८ वडाअध्यक्षसहित ७८ सदस्यले एकीकृत समाजवादी रोजेका छन् । १२ स्थानीय तह रहेको गुल्मीमा एकीकृत समाजवादीमा कोही पनि गएनन् । कपिलवस्तु, पाल्पा, पश्चिम नवलपरासीमा एकीकृत समाजवादी रोज्ने १/१ जनामात्रै छन् । बाँके, बर्दिया, दाङ, रुकुम पूर्व/पश्चिम, नवलपरासीमा केही वडाअध्यक्षलेमात्रै एकीकृत समाजवादी रोजेको बताइएको छ । 


कर्णाली प्रदेश 


कर्णालीमा ३ सय ४० जनप्रतिनिधिले एमाले छाडेर एकीककृत समाजवादी रोजेका छन् । सुर्खेतमा १५, रुकुम पश्चिममा ३, सल्यानमा ६४, डोल्पामा ४२, जुम्लामा १० जनाले एकीकृत समाजवादी रोजेका छन् । 


सुदूरपश्चिम प्रदेश 


सुदूरपश्चिमका ८८ स्थानीय तहका २ सय १० जनप्रतिनिधिले एमाले छोडेका छन् । कञ्चनपुरमा ५१ जनाले नयाँ पार्टी रोजेकोमा ३ जनाले सनाखत फिर्ताका लागि निवेदन दिएका छन् । कैलाालीमा ६५, डडेलधुरामा २, बझाङमा २४, डोटीमा ४, बाजुरामा ९ र दार्चुलामा २ जनाले एमाले छोडेका छन् । अछाममा नयाँ पार्टी रोज्नेको संख्या २७ छ । बैतडीमा ५ वडाअध्यक्षसतिह २८ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।