close

एमाले छाड्ने जनप्रतिनिधिको संख्या सातमध्ये प्रदेश २ मा सर्वाधिक 

एमाले छाड्ने जनप्रतिनिधिको संख्या सातमध्ये प्रदेश २ मा सर्वाधिक 

Trulli
ADVERTISEMENT

प्रदेश १ मा करिब ६ प्रतिशत जनप्रतिनिधिले छाडे एमाले


ताप्लेजुङ– प्रदेश १ मा संघ र प्रदेशमा निर्वाचितभन्दा निकै कम अर्थात् करिब ६ प्रतिशत (५.६२ प्रतिशत) जनप्रतिनिधिले मात्र एमाले छाडेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् ।

 

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशभरिका १४ जिल्लाका एमालेबाट निर्वाचित १ सय ६३ जना जनप्रतिनिधिले नेकपा एस रोजेका छन् ।
प्रदेश १ का २ जिल्लाका समन्वय समिति प्रमुखद्वय क्रमशः खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।


यस्तै, जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपाली, इलाम जिसस उपप्रमुख चित्रकला बराइली र धनकुटा जिसस उपप्रमुख बंगला राईले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।


प्रदेश १ बाट ५ जना जिल्ला समन्वय समिति सदस्यले एमाले छाडेर समाजवादीको पक्षमा सनाखत गरेकामा ताप्लेजुङ जिल्ला समन्वय समिति सदस्य निमातेञ्जी शेर्पाले सनाखत फिर्ता माग गर्दै निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी विपिन दुलालले बताए ।

 

प्रदेश १ बाट २ नगरपालिकाका प्रमुख र २ उपप्रमुखले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले नयाँ पार्टी रोजेका हुन् । 


इलामका ५८ एमाले जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । सूर्योदय नगरपालिकाका ९ जना वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमालेबाट विजयी भएका १० मध्ये ९ वडाध्यक्ष नयाँ दलमा सामेल भएका हुन् । 


यस्तै, भोजपुर नगरपालिका उपप्रमुख ममिता राई र खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठले पनि एमाले छाडेर नेकपा एसको पक्षमा सनाखत गरेका छन् । 

प्रदेश १ भरिमा ३ गाउँपालिका अध्यक्ष र ३ जना उपाध्यक्षले नेकपा एमाले परित्याग गरेका छन् । इलामको माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई, तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर नेकपा एसमा सामेल भएका छन् ।

 

यस्तै, ताप्लेजुङको मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे, आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराई र भोजपुरको टेम्केमैयुम गाउँपालिका उपाध्यक्ष इन्द्रावती राईले पनि नेकपा एमाले परित्याग गरेका छन् । ताप्लेजुङका ५ सहित प्रदेशभरिका ३४ वडाध्यक्ष नेकपा एसमा लागेका छन् ।
ताप्लेजुङको मेरिङ्देन गाउँपलिका वडा नम्बर ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका वडा नम्बर ३ खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ चाँगेका डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मोहन न्यौपाने नेकपा एसमा सामेल भएका हुन् ।

 

पाँचथरबाट निर्वाचित एमालेका ११ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तबहादुर विक र फालेलुङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीप्रसाद जबेगुले नेकपा एसका पक्षमा सनाखत गरेका छन् । 
एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा १ जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू र १ वडाध्यक्षसहति ७ जनाले मात्र नेकपा एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन् । 

 

मोरङमा पनि ४ जना वडाध्यक्ष र ४ जना वडासदस्यसहित ८ जनाले विभाजनको पक्षमा सनाखत गरेका छन् । सुनसरीको इटहरी उपमहानगर कार्यपालिका सदस्य र स्थानीय तहका ५ जना वडा सदस्यसहित ६ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

 

रुकुम पूर्वमा एमालेका १७ मध्ये ४ जनप्रतिनिधिले छाडे एमाले 

 

रुकुम पूर्वमा एमालेका १७ मध्ये ४ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर एमालेबाट स्थानीय तहमा निर्वाचित एक वडाध्यक्षसहित ४ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका हुन् । 

 

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का वडाध्यक्ष हर्कमान बुढा मगरसहित सोही वडाका वडा सदस्य बागीप्रसाद विक, पञ्चमाया बुढा र सिस्ने गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य रुद्रबहादुर बुढाक्षेत्रीले नेकपा एस रोजेको जिल्ला संयोजक भीउमान घर्ती मगरले जानकारी दिए ।

 

एमालेबाट निर्वाचित स्थानीय तहका अन्य १३ जनप्रतिनिधि एमालेमै रहेका छन् । समानुपातिक प्रदेशसभा सांसद आशा स्वर्णकार पनि एमालेमै रहेका छन् । 

 


बाजुराका ८ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा


बाजुरामा एमाले छाडेर नेकपा एकीकृत समाजवादीको पक्षमा ८ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुरामा पुगेर ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

 

स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चीरञ्जीवी शाही र उपाध्यक्ष मिमा बुढालगायत अन्य स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत सामाजवादीको पक्षमा गएका हुन् ।


 
त्यसैगरी बूढीनन्दा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष खडकबहादुर बोहरा, वडा सदस्य छिङ्वा थापा, लक्ष्मी विक, डम्मर सार्की र वडा नम्बर ९ का वडाध्यक्ष भरत थापा, दलित महिला सदस्य बुदी सेरालालगायत जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् । 


जिल्ला निर्वाचन कार्यालय बाजुरामा पुगेर ८ जना जनप्रतिनिधिले सनाखत गरेको एमाले छाडेका स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । निर्वाचन आयोगले नयाँ पार्टी रोज्ने समय २२ भदौसम्म तोकेको थियो ।
 
 
 सुदूरपश्चिम प्रदेशमा एमाले मन्त्री र राज्यमन्त्रीको राजीनामा 


सुदूरपश्चिमका आर्थिक मामला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।


दल विभाजनपछि पनि माउ पार्टीमा रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन् ।
 
‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो । लोकतन्त्र बलियो बनाउन पार्टी रोज्दै राजीनामा दिएको हुँ,’ शाहले भने । विगतमा शाह र गहतराज दवै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए । त्यतिबेला केपी ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निर्णयविरुद्ध शाह र गहतराज पटक–पटक उभिएका थिए । 


प्रदेश सरकारबाट फिर्ता हुन पार्टीले निर्देशन दिएकामा त्यसको अवज्ञा गर्दै संसदीय दलका नेता शाहकै अगुवाइमा मन्त्रिपरिषद् विस्तार भएको थियो ।
तर, दल विभाजन भएपछि भने शाह र गहतराजले नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई साथ दिएनन् ।


 
सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा एमाले पनि सहभागी छ । एमालेका सभामुखबाहेक २४ प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । सुदूरपश्चिम सरकारमा अब माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै सहभागिता छ ।

 

कञ्चनपुरमा ५१ जनप्रतिनिधिले रोजे नेकपा एस

 

कञ्चनपुरमा स्थानीय तहका ५१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । मंगलबार अन्तिम दिनसम्म ५१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । 

 

निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकाका मेयर जीवन थापासहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।  नेकपा (एस) मा सनाखत गरेका ३ जनप्रतिनिधिले सनाखत फिर्ता लिन निवेदन दिएका छन् ।

 

कृष्णपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, ९ नम्बर वडाका वडाध्यक्ष छत्रबहादुर महरा र वडा सदस्य हजरसिंह कुँवरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएका हुन् ।

 


जुम्लामा उपाध्यक्षसहित ४४ जनाले रोजे एकीकृत समाजवादी 

 

जिल्ला निर्वाचन कार्यालय जुम्लाको तथ्यांकअनुसार २०७५ को स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, वडाध्यक्ष १७ जना, महिला सदस्य १८ जना, दलित सदस्य १३ जना र अन्य ४५ जना गरी ९५ जना निर्वाचित भएका थिए । 

 

त्यसमध्ये एक जना उपाध्यक्ष र ११ जना वडाध्यक्षसहित ४४ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एमाले नेता धीरेन्द्र गिरीका अनुसार ९५ मध्ये २ जनाको मृत्यु भएको र २ जनाले पार्टी परित्याग गरेका छन् । ९१ स्थानीय तहका जनप्रतिनिधिमध्ये ४४ ले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेमा ४७ जना प्रतिनिधि पुगेका छन् । 

 

नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नेमा सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री, गुठीचौर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गणेश ऐडी, गुठीचौर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पृथ्वीबहादुर बुढा, चन्दननाथ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नरजित दमाई, चन्दननाथ वडा नम्बर ६ का वडाध्यक्ष अजबहादुर रावल, चन्दननाथ वडा नम्बर ७ का वडाध्यक्ष नरवीर रावल नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।

 

त्यस्तै, कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष धनजीत रोकाया, सिंजा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर बुढा, सिंजा वडा नम्बर ५ का वडाध्यक्ष मुनबहादुर रावत, हिमा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नैनसिंह बुढा, हिमा वडा नम्बर ३ का वडाध्यक्ष सर्पजीत भण्डारी र पातारासी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालबहादुर बुढा गरी ११ जना वडाध्यक्षले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको नेता नेपाल निकट आदीप्रसाद न्यौपानले बताए । 


यस्तै, माथिल्लो कर्णालीको हुम्लामा सबैभन्दा कम जनप्रतिनिधि ५ जनाले मात्रै नेकपा एकीकृत समाजवादी रोजेका छन् । डोल्पामा ४२ जना, मुगुमा २८ जना र कालीकोटमा ६५ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।

 

बाँकेमा सनाखत गरेका १२ जना जनप्रतिनिधिमध्ये एक जनाले मागे फिर्ता


बाँकेमा एक वडाध्यक्षसहित १२ जनाले नेकपा एस रोजेका छन् । उनीहरूले निर्वाचन आयोग बाँकेमा मंगलबार सनाखत गरेका हुन् । बाँकेमा १२ जना जनप्रतिनिधिले नेकपा एस रोजेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

 

मंगलबार साँझ ५ बजेसम्म विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एसमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले बताए ।

 

उनले भने, ‘बाँकेका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये मंगलबार साँझ ५ बजेसम्म १२ जनाले सनाखत गर्नुभएको छ । माथिबाटै सनाखत गर्न आउनेको नाम सार्वजनिक नगर्नू भन्ने निर्देशन आएको छ । सनाखत गर्न आउनेको परिचय सार्वजनिक गर्न उनले मानेनन् ।

 

बाँकेको बैजनाथ गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष कालीबहादुर सिंह, कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा सदस्य तथा कार्यपालिका सदस्य नारायणी वली, जानकी गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोबीले नेकपा एस रोजेका छन् ।

 

यसैगरी खजुरा गाउँपालिका वडा नम्बर १ का वडा सदस्य देवप्रसाद बुढा, रामबहादुर शाही, वडा नम्बर २ का नन्दलाल गुर्ताल, वडा नम्रब ६ का वडा सदस्य हजुरा बम, जानकी वडा नम्बर २ का टीकाराम सुनार, कोहलपुर वडा नम्बर ५ का शंकर खड्का, वडा नम्बर ६ का फागु थारु, वडा नम्बर ११ का हरिकला सुनार र नेपालगञ्ज वडा नम्बर १ का वडा सदस्य डम्बर थापा रहेको नेकपा एसका जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । 

 

खजुरा वडा नम्बर २ का नन्दलाल गुर्तालले निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेपछि पुनः सनाखत फिर्ता माग्दै निवेदन दिएका छन् । उनको निवेदन निर्वाचन आयोग पठाइने र त्यसमा आयोगबाटै कारबाही हुने निर्वाचन कार्यालय प्रमुख सुवेदीले बताए ।


 
प्रदेश २ मा ३२६ जनप्रतिनिधि नेता नेपालको पार्टीमा

 

प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधि ३१६ र १३ जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा लागेका छन् । प्रदेश २ मा एमालेबाट फुटेर बनेको नेकपा एसमा सबैभन्दा बढी जनप्रतिनिधिले सनाखत गरेपछि नेता नेपालको पार्टी सबैभन्दा ठूलो बनेको छ ।


हालसम्म एमालेका २२ प्रदेशसभा सदस्यमध्ये १२ जनाले नेकपा एसको पक्षमा सनाखत गरेका छन् । योसगै प्रदेश २ मा एमाले नेकपा एसभन्दा कमजोर देखिएको छ ।

 

डिल्लीमा उपचाररत एक प्रदेशसभा सदस्य डिल्लीराज उप्रेती मंगलबार जनकपुर फर्किएर सनाखत गरेसँगै नेकपा एसको पक्षमा सनाखत गर्नेको संख्या १३ पुगेको छ । एमालेका २२ प्रदेशसभा सदस्यमध्ये अब संस्थापन पार्टीमा जम्मा ९ जना मात्र बाँकी छन् ।

 

मंगलबार बेलुकासम्म ८ स्थानीय तहका ३१६ जना जनप्रतिनिधि नेकपा एसमा लागेको सो पार्टीका प्रदेश २ इन्चार्ज धर्म साहले जानकारी दिए । सनाखत गर्नेमा सिराहाबाट ६१, सप्तरीबाट २९, धनुषाबाट ४८, सर्लाहीबाट ४८, महोत्तरीबाट ७, बाराबाट ३२, पर्साबाट ५ र रौतहटबाट ८४ जना रहेका छन् ।

 

लुम्बिनीमा ७५ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी, गुल्मी शून्य 

 

दाङ– लुम्बिनी प्रदेशमा एक प्रदेश सदस्य र ७४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । लुम्बिनीका १ सय ९ पालिकामध्येबाट ७४ जना जनप्रतिनिधि र एक प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।


लुम्बिनी प्रदेशमा १ हजार ५ सय ६७ जना एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ जनप्रतिनिधिले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । 


२०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी कुल १ हजार ५ सय ६७ जना निर्वाचित भएका थिए ।  निर्वाचन आयोगले १५ देखि २२ भदौसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो । 

 

यो अवधिमा एमालेबाट निर्वाचित तथा कार्यपालिका सदस्यमा मनोनीत भएका जनप्रतिनिधि र एक जना प्रदेशसभा सदस्यले नेकपा (एस) रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले बताए । 

 

दाङबाट २१, बाँके १२, रूपन्देही ७, रुकुम पूर्व ४, रोल्पा ५, बर्दिया ६, अर्घाखाँची ६, प्युठान ८, पाल्पा १, नवलपरासी (पश्चिम) २, कपिलवस्तुका १ जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी रोजेका हुन् ।

 

गुल्मीमा कुनै पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले बताएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेशमा २० जनाले सनाखत गरेका छन् ।  रूपन्देहीमा १९ र कपिलवस्तुमा १ गरी कुल २० जनाले लोसपा रोजेका छन् ।

 


ताप्लेजुङबाट खगेन्द्र अधिकारी, रुकुम पूर्वबाट जयमान बुढा मगर, इलामबाट याम माबोहाङ लिम्बू, बाजुराबाट जीवन कैला, जुम्लाबाट मानदत्त रावल, बाँकेबाट लक्ष्मी तिमिल्सेना, महोत्तरीबाट विशाल बस्नेत