close

घर भाडा बापतको रकमलाई आय करमा समायोजन गरिदिन मोबाइल व्यवसायीको माग

घर भाडा बापतको रकमलाई आय करमा समायोजन गरिदिन मोबाइल व्यवसायीको माग

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोनाको मारका परेका मोबाइल व्यवसायीहरूले लकडाउन अवधिको घर भाडा बापतको रकमलाई आय करमा समायोजन गरिदिन सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल व्यवसायी महासंघले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।


सरकारले ठूला आयातकर्ता र उद्योगीका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको भएपनि हालसम्म मोबाइल व्यवसायीले राज्यबाट कुनै सुविधा पाउन नसकेको महासंघका अध्यक्ष भरत भट्टराईले गुनासो गरे । अन्य उद्योगलाई सहुलियत ब्याजदरमा सरकारले ऋण प्रवाहको व्यवस्था गरेपनि अर्बौ राजश्व उठाइदिने मोबाइल व्यवसायलाई भने उपहास गरेको भट्टराईले बताए ।


त्यसैगरी मोबाइल व्यवसाय सञ्चालनको लागि न्यूनतम ४० लाखको लगानी आवश्यक रहेको भन्दै बैंकहरूले अन्य व्यवसाय सरह व्यवहार नगरेको उनको भनाइ छ । करछली गरि भित्रिएका मोबाइललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै कार्यान्वयन गर्न आफूहरु पनि लागिपर्ने महासंघले प्रतिवद्धता जनाएको छ । 


महासंघको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै मोबाइल व्यवसायीहरूले ३ अर्व ५२ करोड राजस्व राज्यलाई बुझाएका छन् । यो तथ्यांकलाई मात्रै हेर्ने हो भने वार्षिक ४२ लाख ७५ हजार सेट मोबाईल नेपाल भित्रिएको र त्यसको विक्री गरी ३ अर्व ५२ करोड कर राज्यलाई बुझाइएको पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले जानकारी दिए । 


कार्यक्रममा महासंघले पहिलो पटक आफ्ना अवधारणा पत्र पनि सार्वजनिक गरेको थियो । महासंघका महासचिव रमेश कुमार घिमिरेले अवधारणा पत्र सार्वजनिक गर्दै मोबाइल व्यवसायीहरूले आयातकर्ता र राज्यको असहयोगले गर्दा विभिन्न समस्या भोग्न बाध्य भएको बताए ।


उक्त अवधारणा पत्रमा मोबाइल व्यवसायीले झेलिरहेको वर्तमान समस्या र चुनौतीबारे स्पष्ट पारिएको छ । पछिल्लो समय महासंघले गाउँ तथा नगर, जिल्ला र प्रदेशमा आफ्नो शाखा विस्तार गरिरहेको छ ।